Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


चालु वर्षकाे ८ महिनामा कैलाली भन्सारबाट ५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन

राजस्व संकलनले लक्ष्य भेट्न भने सकेन

65
Shares

काठमाडाैं । कैलाली भन्सार कार्यालय धनगढीले ८ महिनामा ५ अर्ब ४० करोड ६७ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व संकलन गरेको जनाएकाे हो । भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिन्भयाे । उहाँले कार्यालयको चालु आर्थिक वर्षमा नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकाे बताउनुभएकाे छ । आठ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उहाँकाे भनाइ थियाे ।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा भने पुग्न नसकेको कार्यालयले जनाएकाे छ। कार्यालयले गत साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख, असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा ६७ करोड ७८ लाख र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख मात्रै राजस्व संकलन गरेको जानकारी दिएकाे छ ।

त्यस्तै, मंसिर महिनामा ७८ करोड ३३ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख, पुसमा ८१ करोड २५ लाख लक्ष्य रहेकामा ७४ करोड ६५ लाख, माघमा ७६ करोड नौ लाख लक्ष्य रहेकामा ६८ करोड ८२ लाख र गत फागुनमा ७७ करोड १४ लाख लक्ष्य रहेकामा ७६ करोड ४४ लाख मात्रै राजस्व संकलन भएको कार्यालयले जनाएकाे हाे।

गत आर्थिक वर्ष २०८१–८२ मा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन् । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताउनुभयाे । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै भएकाे कार्यालयले जनाएकाे छ।