काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि शुरु गर्दैछ ।
रास्वपाले दुई दिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतकाे बारेमा जानकारी गराइने जनाएकाे हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १ सय ८२ सिट जित हासिल गरेको छ ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन ६ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसक्नुभएकाे छ ।
ललितपुरस्थित एक होटलमा आयोजना हुने कार्यक्रमको पहिलो दिन मंगलबार पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले किनोट मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाकाे बारेमा प्रस्तुति दिनुहुने भएकाे हाे । अर्का उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियानको अनुभव साट्ने कार्यक्रम रहेको पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्वकानून सचिव तोयानाथ अधिकारीले कानून निर्माण प्रक्रियामा सांसदको भूमिकाकाे बारेमा प्रशिक्षण दिनुहुनेछ ।
त्यस्तै, अध्येता डा.दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावका बारेमा प्रस्तुति दिन तय भएको हाे । दोस्रो दिन बुधबार विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहने भएकाे छ । पूर्वसचिव डाक्टर तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनकाे बारेमा सांसदहरूलाई प्रशिक्षित गर्नुहुने भएकाे छ ।
त्यसैगरी, महामन्त्री बुर्लाकोटी लगायतले नयाँ राजनीतिक संस्कारमा सांसदको आचारसंहिता र पार्टीसँगको सम्बन्धबारे प्रष्ट पार्ने तालिका रहेको छ । दुई दिने अभिमुखीकरण कार्यक्रमको अन्त्यमा रास्वपाका सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू स्पष्ट पार्दै समापन मन्तव्य राख्नुहुने भएकाे हाे ।
सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्दै जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न यो कार्यक्रमले सहयोग पुर्याउने रास्वपाको विश्वास छ।








प्रतिक्रिया दिनुहोस्