Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता आवश्यक : अष्टलक्ष्मी शाक्य

राजनीतिक स्थिरताको चुनौती कायमै

182
Shares

काठमाडाैं ।
नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताउनुभएको छ ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको हो । सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उहाँको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले वर्तमानका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याउनुभयो ।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिनुभयो । देकशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उहाँले सबैमा आह्वान गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचन सम्पन्न भएको छ । एक खालको अन्यौलता थोरै हटेको छ तर स्थिरताको प्रश्न कायमै छ । त्यसो भएको हुनाले अब देश कसरी अगाडि बढ्छ त भन्ने जिज्ञासा तपाईं हामी सबैलाई छ । अप्ठ्याराहरु छन्, चुनौतीहरु छन्, देशलाई सबैले माया गर्नुपर्छ नेपाल रह्यो भने हामी रहन्छौं । नेपाली रहन्छौं । नेपालै रहेन भने हामी नेपाली भएर सार्वभौम नेपाली भनेर जुन खालको छ हामीसँग त्यो पनि रहँदैन भन्ने लाग्छ ।

त्यसो भएको हुनाले नेपाललाई माया गरौं । नेपाली नेपालीमा एकताको विकास गरौं र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनको लागि समाजवादको लक्ष्यमा साझा उद्देश्य जुन बनाएका छौं समाजवादको लक्ष्यमा पुग्नको लागि हामीले शिक्षा स्वास्थ्य रोजगारको क्षेत्रमा लगायत सुशासनको क्षेत्रमा सामाजिक न्यायको क्षेत्रमा तपाईं हामी अब महिलाहरु चुप लागेर बस्ने कुरा त आउँदै आउँदैन । किन संविधानले नै हामीलाई अगाडि बढाइसकेको छ । संविधानले नै महिलालाई सुरक्षित गरिसकेको छ ।’

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरु राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताउनु भयो । महिलाहरु विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरुको एउटै स्वर हुनुपर्ने बताउनु भयो । संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरु चुप लागेर बस्न नहुने उहाँको भनाइ छ । नेपालको राजनीतिक इतिहासमा महिलाहरुले आफूलाई प्रमाणित गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी महिलाहरु राजनीतिक रुपबाट विभिन्न पार्टीमा त छौं तर देशको समृद्ध सुशासन र न्यायको लागि अब महिलाहरु पार्टीमा मात्रै विभाजित भएर हुँदैन । महिला एकताको आवश्यकता छ । सबै महिला एक ठाउँमा बसेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसो भएको हुनाले पनि हामी सबै मिलेर अगाडि बढौं भन्ने ८ मार्चको यो महत्वपूर्ण सन्देशलाई पनि हामी नेपाली महिलाहरुले आत्मसात गर्नुपर्छ अगाडि बढ्नुपर्छ एकले अर्कालाई प्रेरित गरेर देश निर्माणमा लाग्नुपर्छ ।’
नेतृ शाक्यले महिलाहरुलाई केवल राजनीतिक दृष्टिकोणबाट मात्र हेर्न नहुने बताउँदै उद्यमशीलता, सामाजिक सेवा र अन्य विविध क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुको योगदानको पनि कदर गर्नुपर्ने बताउनु भयो । सबै महिला एक ठाउँमा बसेर अगाडि बढ्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको बताउँदै उहाँले एकले अर्कालाई प्रेरित गरेर देश निर्माणमा लाग्नुपर्ने बताउनु भयो ।