काठमाडाैं ।
निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ ।
प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार महावीर पुन एक सिटमा विजयी हुनुभएको छ । आयोगले समानुपातिकतर्फको मत गणना आज सकाएर राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका सांसद् बन्नेहरूको सूची पठाउन पत्राचार गर्नेछ ।
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनमा दलहरूलाई सूची पठाउन ३ दिन समय दिनुपर्ने व्यवस्था छ । त्यसो हुँदा आयोगले दलहरूलाई चैत १ गतेसम्मको समय दिनेछ । त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए÷नभएको तथा संविधान र कानुनमा गरिएको क्लस्टर मिले-नमिलेको अध्ययन गर्नेछ ।
नमिलेको भए मिलाउने थप २ दिनको समय दिइनेछ । छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने आयोगले जनाएको छ ।
त्यसपछि एक दुई दिनमा प्रतिवेदन तयार गरेर राष्ट्रिपतिलाई बुझाउने तयारी भईरहेको छ । संभवत चैत दोस्रो साताभित्र नयाँ सरकार गठन हुने देखिएको छ ।







प्रतिक्रिया दिनुहोस्