Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


एमाले उम्मेदवार प्रदीप ज्ञवालीकाे चुनावी खर्च २६ लाख ७५ हजार


1.1k
Shares

गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार उनले जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग काठमाडौंमा खर्च विवरण पेस गरेका हुन्।

पेस गरिएको विवरणअनुसार ज्ञवालीले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा जम्मा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

विवरणअनुसार सबैभन्दा बढी खर्च खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ भएको छ। त्यसपछि सम्पर्क कार्यालय स्थापना गर्न ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। त्यसैगरी विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ज्ञवालीले खर्च विवरण बुझाएका हुन्। ज्ञवाली गुल्मी क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका थिए।