Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


इरानसँगको युद्ध छिटै अन्त्य हुनसक्छ: राष्ट्रपति ट्रम्प

इरानले मध्यपूर्वबाट तेल ढुवानी रोकेमा युद्ध अझै चर्काउने चेतावनी

1.8k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिटै अन्त्य हुनसक्ने बताउनुभएको छ ।

यद्दपी उहाँले अमेरिकाले पर्याप्त जित हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको हाे । इरानले मध्यपूर्वबाट तेल ढुवानी रोकेमा युद्ध अझ चर्काउने समेत उहाँले चेतावनी दिनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणीपछि मंगलबार एशियामा प्रारम्भिक कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य समेत घटेको हाे । सोमबार तेलको मूल्य प्रतिब्यारेल १ सय १५ अमेरिकी डलरसम्म पुगेको थियो । यद्दपी तेलको मूल्य मध्यपूर्वमा युद्धको शुरुवातमा भएको भन्दा अझै पनि करिब ३० प्रतिशतले धेरै छ ।

इरानले हर्मुज मार्ग अवरुद्ध गर्ने धम्की दिएको छ । राष्ट्रपति ट्रम्पले भने मार्ग अवरुद्ध गरेमा थप आक्रमण बढाउने चेतावनी दिनुभएको छ । हमुर्ज मार्गमा लामो समयसम्म अवरोध रहिरहे मार्च महिनाको अन्त्यसम्ममा तेलको मूल्य प्रतिब्यारेल १ सय ५० डलर पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबै भन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । प्रत्येक दिन करिब २ करोड ब्यारेल तेल यहि क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीकोबीचमा रहेको छ ।

अमेरिका र इजरायलले गएको महिनाको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वी देशहरूमा तनाव कायमै रहेकाे हाे ।