Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


नेपाल–बेलायत मैत्री पिकलबल प्रतियोगिता सम्पन्न, नेपाली टोली विजयी


650
Shares

काठमाडौं ।
नेपाल–बेलायत मैत्रीपूर्ण पिकलबल प्रतियोगिता काठमाडौंस्थित इम्पेरियल वर्ल्ड स्कुलमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताले नेपाल र बेलायतका खेलाडीहरूलाई एकै ठाउँमा ल्याउँदै खेलकुद मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।

फेब्रुअरी २७ देखि सुरु भएको प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स गरी विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो। पुरुष डबल्समा मनोज कुमार र दीपेन्द्र बज्राचार्यले स्वर्ण जित्दा सागर तुलाधर र माणिक रत्न शाक्यले रजत तथा लक्ष्मण थापा र जोहान मकाजुले कांस्य पदक जितेका छन् ।

महिला डबल्समा करिन दुग्गन र क्लेयर म्याकनाइटले स्वर्ण, जेनी गोडार्ड र सु एन्ड्रयूजले रजत तथा स्टेफ ग्रेस र पाम सिम्पसनले कांस्य पदक हात पारेका छन् । मिक्स डबल्समा क्लेयर म्याकनाइट र ग्लेन म्याकनाइटले स्वर्ण जित्दा दीपेन्द्र बज्राचार्य र गीताञ्जली गुरुङले रजत तथा निकिता लामा र बी खड्काले कांस्य जितेका छन्।

प्रतियोगिताको अन्तिम आकर्षणका रूपमा भएको टोली नेपाल र टोली युकेबीचको टिम क्ल्याशमा टोली नेपाल विजयी भएको छ। कुल ५० अंकका लागि खेलिएका आठ खेलपछि टोली नेपालले समग्र उपाधि जितेको हो।

नेपाल अन्डरग्राउन्ड पिकलबलका ज्याक्सन सुवेदीको निर्देशनमा सम्पन्न प्रतियोगितामा पिकलबल संघ नेपालका अध्यक्ष सौरभ भण्डारी र अरुण चौधरी फाउन्डेसनका प्रमुख अरुण कुमार चौधरीको पनि उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा पिकलबलको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय खेलकुद सहकार्यलाई थप मजबुत बनाएको छ।