Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी


169
Shares

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ ।

बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताउनुभएको हो । उहाँकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरु र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो मतदान हुने दिनसम्म आइपुग्नको लागि हामीले नेपालभरका सबै ठाउँमा सुरक्षाको पूर्वतयारी स्परुप सबै सुरक्षा निकायहरुका बीचमा एकीकृत सुरक्षा योजना बनाएर एकीकृत भएका थियौँ । यो आजको दिन आइपुग्नको लागि आजभन्दा अगाडि अपनाइएका रणनीतिहरुले काम गरेका छन् ।

आज देशभरका सबै मतदान केन्द्रहरुमा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखामा भने केही विवाद भएको कारण त्यसको टुंगो लागिसकेको छैन । सबै राजनीतिक दलका बीचमा छलफल पनि चलिराखेको छ । त्योभन्दा बाहेकका सबै मतदानस्थलहरुमा सामान्य दलीय प्रकृतिका केही विवादहरु भएतापनि त्यहाँस्थित दलका प्रतिनिधि र निर्वाचन अधिकृतले नै समस्या हल हुने गरेर अगाडि जानुभएको छ । समग्रमा देशभरको निर्वाचन शान्तीपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको छ ।’
आईजीपी कार्कीले जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भएपनि सिमित स्रोत–साधनका बाबजुद पनि मुलुकको सुरक्षामा नेपाली सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानूनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको सुनाउनु भयो ।

सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि मान्दै व्यक्तिगत सुविधा र इन्द्रियसुख त्यागेर कर्तव्य निर्वाह गरेकै कारण घोषित मितिमै शान्तीपूर्ण ढंगले निर्वाचन सम्भव भएको समेत बताउनु भयो । उहाँले कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच समेत सुरक्षाकर्मीहरूले पर्याप्त स्रोत–साधन र उपकरण बिना नै सडकमा खटिएर जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको सुरक्षा निकायहरु भ्वनले भन्दा भावनाले, कानूनले भन्दा कामनाले र साधन स्रोतले भन्दा पनि साधनाले काम गर्दै आएका छन् । हामीले मुलुकलाई शीरमा राखेर आफ्ना इन्द्रीय सुखहरुलाई पनि परित्याग गर्दै कर्मचारीको मनोबल बढाउने कुरामा काम गर्ने हो । ती भत्केका संरचनाहरु, जलेका सवारी साधनहरुका बीचबाट पनि हाम्रा सुरक्षाकर्मीसँग युनिफर्म र स्रोत साधन नहुँदा पनि खाली खुट्टा सडकमा उठेर काम गरेकै हुन् ।

त्यो नेपाली जनताप्रति उनीहरुको समर्पणभाव हो । सधैंभरी त्यस्तै अवस्थाले काम गर्दैन । यसबीचमा कर्पोरेट क्षेत्रको सहयोग लिने, सरकारकी सहयोग प्राप्त गर्नेदेखि सुरक्षाकर्मीको मनोवल बढाउन नागरिकस्तरबाट पनि सहयोग भएको हो । त्यसले थप काम गर्नको लागि उत्प्रेरित पनि गरेको छ ।

त्यो अवस्थाबाट यो अवस्थामा आउनको लागि सुरक्षा निकायका बीचमा समर्पणभाव र न्युन स्रोत र साधनका बीच पनि मुलुकको अवस्था हेरीकन पनि परिणाममुखी काम गर्नुपर्छ भन्ने सोच नेतृत्वले राखेको छ ।’ उहाँले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताउनु भयो ।