काठमाडौँ ।
श्रीलंका नजिकै हिन्द महासागरमा इरानी युद्धपोत डुबेको घटनामा कम्तीमा ८० नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त जहाज डुबेको बताइएको छ।
अमेरिकी रक्षा सचिव पीट हेगसेथले अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई निशाना बनाएको पुष्टि गरेका छन्। उनले यो कदम क्षेत्रीय सुरक्षा चासोका आधारमा चालिएको दाबी गरेका छन्।
डुबेको जहाज इरानी नौसेनाको फ्रिगेट आईआरआईएस डेना रहेको जनाइएको छ। जहाजमा करिब १८० नौसैनिक सवार थिए। श्रीलंकाली नौसेनाले घटनास्थलबाट ३२ जना घाइतेको उद्धार गरी अस्पताल भर्ना गरेको जनाएको छ भने अन्य बेपत्ता नौसैनिकको खोजी कार्य जारी रहेको छ।
यो घटना दक्षिणी श्रीलंकाको Galle सहरबाट करिब ४० समुद्री माइल टाढा भएको हो। स्थानीय समयअनुसार बिहान ६–७ बजेको बीचमा आपतकालीन सन्देश प्राप्त भएको अधिकारीहरूले बताएका छन्।
उक्त युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित अन्तर्राष्ट्रिय फ्लीट रिभ्यु कार्यक्रममा सहभागी भएर फर्किँदै थियो।
यस घटनाले हिन्द महासागर क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। अमेरिका र इरानबीचको बढ्दो तनावका बीच यो घटनालाई महत्वपूर्ण रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाबारे थप आधिकारिक विवरणको प्रतीक्षा गरिरहेको छ।







प्रतिक्रिया दिनुहोस्