काठमाडाैं । राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् ।
निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठूला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ । नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन् ।
निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सुक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबीच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् । उम्मेदवारहरू स्वयंले उच्च राजनीतिक संस्कार र अनुशासन प्रदर्शन गरेको, निर्वाचन आचारसंहिताको पालनामा ‘पेपरलेस’ अभियानलाई प्राथमिकता दिएको र सानातिना प्राविधिक त्रुटिहरूलाई पनि डिजिटल माध्यम (ह्वाट्सएप) बाट प्राप्त जानकारीका आधारमा तत्कालै सच्याउने तत्परता देखाएको पाइएको पर्यवेक्षकहरुको भनाइ छ ।
लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लाहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताहरूमा कुनैपनि किसिमको भय वा त्रास नदेखिएको र उनीहरू आफ्नो दैनिक दिनचर्याका साथै निर्वाचन प्रक्रियामा सचेततापूर्वक सहभागी भइरहेको देखिएको छ । निर्वाचन आयोगको व्यवस्थापन र मौन अवधिको शुरुवातसम्मको शान्त अवस्थाले यस पटकको मतदान स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने बलियो आधार निर्माण गरेको भएपनि निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान सम्पन्न नहुँदासम्म सरोकारवाला निकायहरूलाई पूर्ण सजग रहन पर्यवेक्षकहरूले आग्रह गरेका छन् ।
वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय पर्यवेक्षक परशुराम कोईरालाले यस पटकको निर्वाचन मतदातामैत्री र भयरहित तरिकाले अगाडि बढेको बताउनु भयो । उहाँकाअनुसार राजनीतिक दलका उम्मेदवारहरूले आफूलाई अनुशासनमा राखेका कारण प्रचारप्रसारका क्रममा कुनै झडपका घटनाहरू भएका छैनन् । आचारसंहिता उल्लङ्घनका सन्दर्भमा पनि कुनै गम्भीर लिखित उजुरी नदेखिएको उहाँको भनाइ छ । सामान्य कुराहरू ह्वाट्सएपमार्फत जानकारी गराउँदा उम्मेदवारहरूले आफैँ सुधार गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा यसपालिको इलेक्सन अरु बेलाको जस्तो कुनै किसिमको झडप केही पनि पाइएन । शान्तिपूर्ण रूपमा यो अगाडि बढेको छ । भयरहित छ, आम मतदाताहरू अवेयर हुनुहुन्छ र पोलिटिकल पार्टीका उम्मेदवारहरूले पनि आफूलाई बडो डिसिप्लिनमा राख्नुभएको छ । चुनावको प्रक्रियामा यो प्रचार–प्रसारको क्रममा कुनै किसिमको झडपहरू भएको देखिन सुन्नमा आएन र जहाँसम्म आचार संहिताको उल्लङ्घन के कस्तो रह्यो भन्ने सन्दर्भमा पनि खासै त्यस्तो कुनै इस्यु आएको लिखित रूपमा आएको पनि देखिएन । केही–केही कुराहरू आएको रहेछ भने ह्वाट्सएपहरूबाट त्यो पोलिटिकल पार्टी सम्बन्धितलाई उम्मेदवार कहाँ पठाउँदा उहाँहरूले आफैँले आफैँलाई करेक्शन गर्नुभएको अवस्था छ । र यसरी हेर्दा यो पटकको चुनाव भयरहित र असाध्यै मतदातामैत्री तरिकाले कण्डक्ट हुन गइरहेको छ भन्नेमा हामी विश्वस्त छौं ।’
कानून व्यवसायी एवं राष्ट्रिय पर्यवेक्षक उषा मल्ल पाठकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा गरिएको पर्यवेक्षणका क्रममा निर्वाचनको वातावरण अत्यन्तै शान्तिपूर्ण पाइएको जानकारी दिनुभयो । उहाँले यस पटकको निर्वाचनमा ‘पेपरलेस’ आचारसंहिताको प्रभावकारी पालना भएको बताउनुभयो । उम्मेदवारहरूले आपसी सहमतिमा प्रचारप्रसारको तालिका मिलाएका कारण झडप र गालीगलौज नभएको बताउनुभयो ।
निर्वाचन ऐतिहासिक हुने देखिए पनि यो संवेदनशील विषय भएकाले मतदान नसकिँदासम्म सुरक्षा निकाय र सरोकारवालाहरू सजग रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन पूर्वतयारीका क्रममा लुम्बिनी प्रदेशको भैरहवा र बुटवल रुपन्देही जिल्लामा पर्यवेक्षण गर्ने क्रममा त्यहाँको पाँचवटा निर्वाचन क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्रको अवलोकनको क्रममा र त्यहाँको तयारीको अवस्था प्रमुख निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सिडियो कार्यालय, प्रमुख जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षाकर्मी लगायतसँगको छलफल गरेका थियौँ । मतदाताहरुसँगको छलफलमा र राजनीतिक दलका प्रतिनिधिहरु र उम्मेदवारहरु, साना दलका उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवारहरु सबैसँगको छलफल लगायत अवलोकनको क्रममा त्यहाँ के देखियो भने अहिलेसम्म त्यहाँ कुनैपनि किसिमको तडकभडकहरु र झडपहरु, विवादहरु केही पनि देखिएन भने देखिन एकदमै शान्तिपूर्ण अवस्था रहेको पाइयो । त्यस्तै गरी निर्वाचनको जुन यो आचारसंहिताले पेपरलेस बनाउने भन्नेकुरा थियो ।
त्यसलाई धेरै हदसम्म सबै राजनीतिक दल र उम्मेदवारहरुले त्यहाँ प्रयोग गरेको पायौँ । उहाँहरुको सचिवालय अथवा प्रचारप्रसार कार्यालयमा ठूला एउटा एउटा आफ्ना उम्मेदवारहरुको पोस्टर र झण्डाहरु बाहेक अन्य ठाउँहरुमा कुनैपनि त्यस्ता पोस्टर, प्याम्प्लेट, पर्चाहरु देखिएन । र त्यस्तै गरी जनताहरु माझमा पनि निर्वाचनको माहोल भनेर एक किसिमको भय, त्रास केही पनि छैन । सबैजना आ–आफ्नो जे दैनिक दिनचर्यामा लागेका छन्, त्यसरी नै मतदाताहरु पनि स्वयं लागिराखेको अवस्था छ अहिलेसम्म । प्रचारप्रसारको शैली नै अलिकति फरक पायौँ । एउटा दल अथवा एउटा उम्मेदवार एउटा प्रचार गर्न जाँदा अर्को त्यहाँ नजाने खालको त्यो किसिमको, त्यो वातावरण पनि मिलाइएको पायौँ ।
उहाँहरु त्यही किसिममा सहमतिमा त्यसरी नै आफ्ना प्रचारप्रसारहरु गरिएको कारणले त्यहाँ कुनैपनि दल उम्मेदवारहरु बीचको झडप बीचमा होहल्ला, झडप एक अर्कालाई गालीगलौज जस्ता लगायतका कुनैपनि कार्यहरु नभएको भेटियो । र अहिलेसम्म लुम्बिनी प्रदेशको यो रुपन्देही जिल्लामा हिंसात्मक कार्यहरु भएको यो बिथोल्ने किसिमको यस्ताहरु पनि अहिलेसम्म सम्भावनाहरु नदेखिएको पाइयो । अथवा अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि निर्वाचन ऐतिहासिक हुने देखियो । तर पनि निर्वाचन हो । चाहे सुगम क्षेत्र भने पनि दुर्गम क्षेत्र भने यो संवेदनशील नै विषय हो । निर्वाचन आफैँमा संवेदनशील विषय भएको र जोखिमपूर्ण पनि हुने भएकोले अहिलेसम्मको हेर्दा एकदमै शान्तिपूर्ण, कुनैपनि जोखिमहरु देखिएको छैन तर यो दुई दिन अझै बाँकी छ निर्वाचन सम्पन्न हुँदासम्म पनि यही अवस्था रहिरह्यो भने यो एकदमै ऐतिहासिक हुन्छ । यो संवेदनशील विषय भएकाले सम्बन्धित निकाय र सरोकारवाला सजग रहनुपर्छ ।’
राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले मनोनयनको समयमा रहेको निर्वाचनप्रतिको शङ्का अहिले निवारण भएको बताउनु भयो । निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार तयारीहरू पूरा भएको र मौन अवधिको शुरुवातसम्म कुनैपनि अप्रिय घटना नभएको उहाँको भनाइ छ । विभिन्न जिल्ला र प्रदेशको अवस्थालाई विश्लेषण गर्दा यस पटकको निर्वाचन स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने अधिकारीले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस पटक मनोनयन अलि हतार–हतारमै भयो र प्रायः जसो प्रि–म्याच्युर पूर्वअवस्था पूरा नभइकन हुन लागेको निर्वाचनमा शङ्का थियो पहिले । अहिले त्यो शङ्का निवारण भयो । किनभने मनोनयनको बेलादेखि आजसम्म त्यस्तो उल्लेख्य झगडा भएको पनि सुनिएन । र निर्वाचन आयोगले पनि आफ्नो तयारी आफ्नो समय–समयावधिलाई जुन तोकेर गरेको थियो । त्योअनुसार भएको छ र मौन अवधिसम्म आइपुग्दा कुनैपनि किसिमको त्यस्तो निर्वाचन बिथोलिने खालको वातावरण केही नदेखिएको र आजको मिति जहाँ मौन अवधि शुरु भइसक्यो र पनि त्यस्तो केही देखिएको छैन । र हामीले जति जिल्लाको हामीले थाहा पायौँ र प्रदेशको थाहा पायौँ त्यसले के देखायो भने निर्वाचन स्वच्छ हुन्छ, निर्वाचन धाँधलीरहित हुन्छ र निर्वाचन ऐतिहासिक रूपमा नै सफल हुन्छ भन्ने अहिलेसम्मको हाम्रो आँकलन छ । र हामीलाई के लाग्छ भने अब बाँकी ४८ घण्टा पनि र चुनावको सिद्धिने बेलासम्ममा पनि यही तरिकाले जाओस् र जान्छ भन्ने हामीले आँकलन गरेका छौँ ।’
यस पटकको निर्वाचन प्रचारप्रसारको शैली र उम्मेदवारहरूको अनुशासनले नेपाली लोकतन्त्र परिपक्व बन्दै गएको सङ्केत गरेको पर्यवेक्षकहरूको ठम्याइ छ । मौन अवधिको यो शान्त वातावरण मतदान नसकिँदासम्म कायम रहेमा यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा स्वच्छ र नमूना योग्य हुने विश्वास पर्यवेक्षकहरुले गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्