Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


गोरखामा लहर ल्याउँदै सुदन ! (भिडियाे रिर्पाेट)


390
Shares

गाेरखा । गत भदौको जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिएका छन् । जेनजी आन्दोलनमा स्वयंसेवकको भूमिकादेखि अन्तरिम सरकार गठनसम्म महत्वपूर्ण भूमिका खेलेका गुरुङको पक्षमा मतदानको दिन नजिकिंदै जाँदा ब्यापक जनसमर्थन बढेको पाइएको छ । एक रिपोर्ट

गोरखाको दुर्गम उत्तरी भेग सिर्दीवासका स्थायी वासिन्दा सुदन गुरुङ चुनाव प्रचारका लागि घरदैलो गर्ने क्रममा गोरखाको उत्तरी हिमाली क्षेत्रदेखि पृथ्वी राजमार्गसंग जोडिएका वस्तीका घरघर पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका गुरुङप्रति पनि अन्यत्र जस्तै स्थानीय मतदाताले उत्साहपूर्ण समर्थन गरेको पाइन्छ । गुरुङ जहाँ जहाँ पुग्छन् त्यहाँ वृद्धवृद्धादेखि युवा र बालबालिकाले समेत उस्तै प्रेम र सद्भाव प्रकट गर्ने गरेका छन् । एक लाख २० हजार पाँच सय २५ मतदाता रहेको गोरखा क्षेत्र नम्बर १ मा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मूख्य प्रतिष्पर्धा भने नेपाली कांग्रेसका प्रेमकुमार खत्री र रास्वपा उम्मेदवार सुदन गुरुङबीच नै हुने अनुमान स्थानीयहरुले गरिरहेका छन् ।

त्यसो त यस क्षेत्रमा नेकपा एमालेका रामचन्द्र लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी पनि राम्रै मत ल्याउन सक्ने हैसियतका उम्मेदवार ठानिएका छन् । यद्यपी प्रतिष्पर्धी उम्मेदवारहरुको तुलनामा सुदन गुरुङको चर्चा मतदाताहरुबीचमा बढी हुने गरेको छ ।

२०७२ सालको भूकम्पका पीडितहरुको उद्धार, राहत र ब्यवस्थापन जस्ता कामबाट सामाजिक क्षेत्रमा पाइला चालेका सुदन गुरुङले त्यतिबेला वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएका भूकम्पका घाइतेहरुका लागि सहयोग जुटाएका थिए । तत्कालै एक हजार जनाको टीम बनाएर गुरुङले भूकम्पको केन्द्र विन्दु रहेको गोरखाको बारपाकदेखि देशका विभिन्न भूकम्पग्रस्त गाउँहरुमा उद्धार, राहत र औषधीका लागि काम गरेका थिए ।

गोरखा भूकम्पका बेला फिल्डमा उत्रिंदा सरकारी सेवाको ढिलासुस्ती र भ्रष्टतन्त्रलाई नजिकबाट देखेका गुरुङले कोभिड महामारीको बेला भने हामी नेपाल नामक गैरसरकारी संस्था खडा गरेर ब्यवस्थित काम शुरु गरेका थिए । शुरुमा १६ सय जना सदस्यबाट उनले कोभिड पीडितहरुको सेवाका लागि काम शुरु गरेका थिए । कोभिड १९ को महामारीमा गुरुङको टीमले वैकल्पिक सहायताका लागि ब्यापक सहयोग उपलब्ध गराउन सफल भएको थियो ।त्यसको अर्को वर्ष देशका विभिन्न भागमा गएको बाढी पहिरोको प्रकोपमा पनि सुदन गुरुङ नेतृत्वको हामी नेपालले उद्धार र राहतका लागि काम गरेको थियो । विशेषः गरी गर्भवती र सुत्केरी महिलाहरुको सहयोगमा उनीहरु खटिएका थिए ।

त्यसो त २०७९ सालमा टर्की र सिरियामा गएको महाभूकम्पमा पनि हामी नेपालका स्वयंसेवकहरु पुगेर उद्धार, राहत र पीडितहरुको ब्यवस्थापनमा काम गरेका थिए । सामाजिक कार्यमै रमाईरहेका गुरुङ देशमा ब्याप्त भ्रष्टाचार, बेथिति र युवाहरुको पलायनबाट आक्रोशित र चिन्तित थिए । गत भदौमा जेनजी युवाहरु त्यही बेथिति विरुद्ध सडकमा उत्रिने भएपछि सुदन गुरुङ पनि नव युवाहरुलाई सघाउन सडकमा पुगेका थिए । तर जेनजी आन्दोलनमा तत्कालिन सत्ताले गरेको बर्बर दमनपछि उत्पन्न परिस्थितिले देशमा ल्याएको भ्याकुम ब्यवस्थपनको जोखिम उठाउने हिम्मत पनि उनले गरेका थिए ।

सर्वत्र अराजकता र सरकारविहिनताको अवस्थाबाट देश गुज्रिरहेको बेला उनले नेपाली सेनाको नेतृत्वसंग जंगीअड्डा पुगेर संवाद गर्नेदेखि अन्तरिम सरकार गठनका लागि जेनजी युवाहरुलाई एकजूट गराउनेसम्मको भूमिका निभाएका थिए । सुदन गुरुङकै अगुवाईमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति पनि जेनजी युवाहरुबीचमा जुटेको थियो । देशमा आमूल परिवर्तन नगरी देशलाई भ्रष्टाचारको दलदलबाट बाहिर निकाल्न सकिंदैन र जेनजी शहीदका भावनाको सम्मान पनि हुन सक्दैन भन्ने बुझेका गुरुङले फागुन २१ गतेका लागि घोषित निर्वाचनमा प्रत्यक्षतर्फ नै चुनाव लड्ने निर्णय गरेका थिए ।