Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलताः उम्मेदवारी खारेज र ६ वर्षको प्रतिवन्धको चेतावनी


169
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो ।

हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको बताउनु भयो । तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको उहाँले बताउनु भयो । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’ निर्वाचन आयोग कुनैपनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उहाँको दाबी छ ।