Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


काठमाडौं–१ मेरा लागि चुनावी नक्सा होइन, जीवनको भूगोल हो : प्रवल थापा


0
Shares

काठमाडौं ।
संघर्ष, जिम्मेवारी र माटोसँग गाँसिएका प्रवल थापा काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार छन् ।

थापागाउँमा जन्मिएका, हुर्किएका थापाको जीवन सहज थिएन, २० महिनाकै उमेरमा बुबा गुमाउँदा उनको बाल्यकाल जिम्मेवारीको भारीले छोपिएको थियो । आमाको संघर्ष, आँसु र धैर्यबीच हुर्किएका उनले दुःखको अर्थ किताबबाट होइन, जीवनबाट सिकेको बताउँछन् ।

त्यही अनुभूतिले आफूलाई समाज बुझ्ने दृष्टि र राजनीतिलाई सेवा र जिम्मेवारी बोक्ने बाटो देखाएको थापाको बुझाइ छ । उनी भन्छन्–‘काठमाडौं–१ मेरा लागि चुनावी नक्सा होइन, जीवनको भूगोल हो । माइतीघर, नयाँ बानेश्वरका गल्ली, बस्ती, विद्यालय, अस्पताल र आन्दोलनका दृश्य आफ्नै आँखाले देखेको छु । यहाँका सडक, पसल, कार्यालय र बस्ती मेरा लागि केवल स्थान होइनन्, अनुभवका अध्याय हुन् । त्यसैले यो क्षेत्र बुझ्न अरूले पढ्नुपर्छ, मैले बाँचेर बुझेको छु ।’

विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा नेपाल विद्यार्थी संघ, तरुण दल, जिल्ला समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै प्रतिनिधि सभाको उम्मेदवारसम्म आइपुगेको छ । चुनावका बेलामा मात्र होइन, नियमित रूपमा जनताकै बीचमा बसेर समस्या सुन्ने र समाधान खोज्ने अभ्यासमा आफू रहेको उनी बताउँछन् । संगठनमा लामो समय काम गरेकाले राजनीति

त्ताको साधन होइन, सेवा गर्ने जिम्मेवारी हो भन्ने धारणा उनले बनाएका छन् ।अष्ट्रेलियाबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेपछि विदेशमै सुरक्षित जीवन नरोजेर स्वदेश फर्किएर व्यवसायसँगै समाज सेवामा जोडिनु सजिलो निर्णय थिएन । तर, उनले आफ्नै माटोमा सम्भावना देखेको र माटोसँगै भविष्य जोड्ने संकल्प गरेको उनको भनाइ छ ।

काठमाडौं–१ राजधानीको केन्द्र भएकाले यहाँका समस्या पनि सामान्य छैनन् । ट्राफिक जाम, अव्यवस्थित पार्किङ, आन्दोलनका कारण प्रभावित व्यवसाय, सुकुम्बासी समस्या, शहरी गरिबी, कमजोर सार्वजनिक सेवा र असुरक्षित व्यावसायिक वातावरणलाई प्रवल थापाले चुनौतीका नारा होइन, समाधानको जिम्मेवारी बोक्न तयार रहेको बताउँछन् । आफ्ना चुनावी एजेन्डामा शहरी जीवन सुधार छ । ट्राफिक व्यवस्थापन र वैज्ञानिक पार्किङ, पैदलमैत्री सडक, भित्री बस्ती बीचको कनेक्टिभिटी, ढल निकासको आधुनिकीकरण, सार्वजनिक सेवा र प्राथमिक स्वास्थ्य केन्द्रको सुदृढीकरण, स्वच्छ खानेपानीको न्यायोचित वितरणलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै सहरको सौन्दर्यकरण, हरियाली र सम्पदा संरक्षणलाई उनले दीर्घकालीन पहिचानसँग जोड्छन् । शहरी अर्थतन्त्रलाई बलियो बनाउन उद्यमशीलता, स्टार्ट अप सहयोग, लघु तथा मझौला व्यवसाय प्रवद्र्धन, सीप विकास र रोजगारी सिर्जनालाई उनले मुख्य एजेन्डा बनाएका छन् । काठमाडौं– १ लाई केवल बसोबासको ठाउँ होइन, गरीखाने ठाउँ बनाउने उनको लक्ष्य छ । आन्दोलनको केन्द्र भएकाले व्यवसायी पलायन हुने जोखिमप्रति उनी चिन्तित छन् । त्यसैले व्यावसायिक सुरक्षा र शान्त वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सुकुम्बासी समस्या समाधानलाई उनी भावनात्मक नारामा होइन, तथ्य, संवाद र न्यायोचित प्रक्रियामा आधारित गर्नुपर्ने बताउँछन् । वर्षौंदेखि थाती रहेको यो विषयलाई वैज्ञानिक तरिकाले टुंग्याउनु नै दीर्घकालीन समाधान हुने उनको धारणा छ ।
प्रवल थापाले सुशासन र जवाफदेहीतासँगै संसदमा देखिने मात्र होइन, बोल्ने र परिणाम दिने सांसद बन्ने उनको प्रतिबद्धता छ । सार्वजनिक खर्चमा पारदर्शिता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, नियमित सार्वजनिक सुनुवाइ र वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्ने अभ्यासलाई उनले आफ्नो कार्यशैली बनाउने बताएका छन् । जनतासँग संवादलाई उनले चुनावी औपचारिकता होइन, निरन्तर प्रक्रिया ठान्छन् ।

उनको राजनीतिक दृष्टि पुस्तान्तरणसँग पनि जोडिएको छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर मात्र राजनीतिक संस्कृति बदल्न सकिन्छ भन्ने विश्वास उनी राख्छन् । युवाका रोजगारी, अवसर, पारदर्शिता र सुशासनका मुद्दा उनको एजेन्डाको केन्द्रमा छन् । प्रवललाई अरूबाट फरक बनाउने कुरा उनको मानवीय यात्रा हो । अभाव, असुरक्षा र अवसर नपाउँदाको पीडा उनले आफ्नै जीवनमा भोगेका छन् ।

त्यसैले शहरी गरिबी, बेरोजगारी र सामाजिक असमानताका मुद्दाप्रति उनी संवेदनशील छन् । उनी भन्छन्, जनप्रतिनिधि चुनाव जितेर मात्र होइन, जनताको विश्वास जितेर बन्नुपर्छ । चुनावपछि पनि यही चोक, यही गल्ली र यही बस्तीमा रहने भएकाले उनको राजनीति केवल चुनावका लागि होइन, जीवनका लागि हो ।

काठमाडौं–१ मतदाताका लागि यो चुनाव केवल उम्मेदवार रोज्ने निर्णय होइन, शहरको भविष्य रोज्ने निर्णय हो । संघर्षबाट आएको संवेदनशीलता, माटोसँग गाँसिएको अनुभूति र परिवर्तनको प्रतिबद्धता बोकेका छन् ।