Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


एमाले कार्यकर्तालाई लिङदेनको अपीलः ‘मलाई भोट दिएर पछुताउनु पर्दैन’


0
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टी कुनैपनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ ।

उहाँले घोषित वा अघोषित रूपमा कुनैपनि दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको शक्तिमाथि भरोसा गर्न आग्रह गर्नुभएको हो । शनिवार झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिङदेनले विशेष गरी नेकपा (एमाले) का कार्यकर्ता र शुभचिन्तकहरूलाई विगतका चुनावहरूमा एमालेका मतदाताले आफूलाई मतदान गरेर जिताएको स्मरण गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो । लिङदेनले एमालेका मतदाताहरूलाई प्रश्न गर्दै ‘सूर्य चिन्हवाला मान्छेले हलोमा भोट दिएर अपराध गरेँ भन्ने लाग्छ ? भन्दै प्रश्न गर्नुभयो । कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताएको भएपनि राजेन्द्र लिङदेनलाई भोट दिएर पछुताउनु नपर्ने बताउनु भयो । आफ्नो कार्यकालको समीक्षा गर्दै उहाँले आफूले भ्रष्टाचार नगरेको र काम गर्ने सिलसिलामा कुनैपनि प्रकारको पक्षपात नगरेको दाबी गर्नुभयो । उहाँले आफू कुनै एउटा जात, धर्म वा पक्षको मात्र नभई समग्र देशहितको पक्षमा संसदमा उभिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि पार्टीसँग राप्रपाले गठबन्धन गरेको छैन । कुनैपनि प्रकारको तालमेल गरेको छैन । घोषित अघोषित रूपमा कुनैपनि प्रकारको सम्झौताहरू गरेको छैन र राप्रपा एक्लै चुनावमा लडिरहेको छ । म तपाईं सबै दिदीबहिनी दाजुभाइहरूलाई अपील गर्न चाहन्छु, खासगरी एमाले साथीहरूलाई भन्छु । तपाईंहरूले दुई चोटी त हलोमा भोट हालिसक्नु भयो । दुई चोटी त तपाईंहरूले मलाई चुनाव जिताइसक्नु भयो । एक चोटी छातीमा हात राखेर सम्झिनुहोस् आफैँले आफैँलाई सोध्नुहोस् तपाईं एमालेको मान्छेले सूर्य चिन्हवाला मान्छेले हलोमा भोट दुई चोटी दिएर अपराध गरेँ भन्ने लाग्छ ? राजेन्द्र लिङ्देनलाई भोट दिएर गल्ती भयो भन्ने लाग्छ ? मलाई जहाँसम्म लाग्छ, बरु तपाईंले कुनै बेला एमाले भएर सूर्यमा भोट दिएर पछुताउनु भएको होला तर राजेन्द्र लिङ्देनलाई भोट दिएर तपाईंले पछुताउनु परेको छैन । मैले भ्रष्टाचार गरेको छैन, काम गर्ने सिलसिलामा पक्षपात गरेको छैन, पार्टी खोजेर हिँडेको छैन र मैले संसदमा उभिएर कुनै एउटा जातको एउटा धर्मको एउटा पक्षको कुरा मात्र होइन, मैले समग्र देशहितको कुरा गरेको छु । त्यति मात्र होइन आज सबैले एकले अर्कालाई निषेध गरिराखेको बेला, एकले अर्कालाई समाप्त गर्न प्रयत्न भइराखेको बेला संसदमा होस् अथवा सडकमा उभिएर होस्, राष्ट्रिय एकता र सहमतिको कुरा गरेको छु । सबैलाई मिलाएर लैजाने प्रयत्न गरिराखेको छु । र भविष्यमा पनि तपाईंको मनमा लाग्छ, राजेन्द्र लिङदेन फेरि पनि संसदमा जान जरुरी छ, राजेन्द्र लिङदेनको पार्टी बलियो बन्न जरुरी छ अनि मात्रै यो देशमा शान्ति, स्थिरता र एकता कायम हुनसक्छ भन्ने तपाईंको मनमा लाग्छ ।’

उहाँले देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्नुपर्ने र आफू पुनः संसदमा पुग्नु अनिवार्य रहेको जिकिर गर्नुभयो । उहाँले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गर्नुभयो ।