Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


राष्ट्रिय लिग फुटबलमा लालीगुराँसले गुमायो अवसर


169
Shares

काठमाडाैं । अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिग फुटबलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीको नतिजा सामना गरेकाे हाे। लालीगुराँसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । लालीगुराँसका लागि सरोज गुरुङले गोल गरेका थिए । तर फ्रेन्ड्सका जेनिस प्रजापतिले गोल फर्काए । लालीगुराँसले १४औं स्थानको फ्रेण्ड्स क्लबविरुद्ध धेरै चुनौती दिए पनि जित निकाल्न सकेन ।

दोस्रो स्थानको लालिगुराँस लिगमा अपराजित छ । फ्रेण्ड्सलाई हराए लालीगुराँस शीर्ष स्थानमा उक्लिन सक्थ्यो । तर अंक बाँडेपछि दोस्रो स्थानमा नै सीमित भयो । सात खेलबाट पुसिल १९ अंकसहित शीर्ष स्थानमा छ भने आठ खेलबाट लालीगुराँसले १८ अंक जोड्यो । सरोज गुरुङले करिब १८ यार्डबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरे ।

याेसँगै पहिलो हाफमा लालीगुराँस अगाडि रह्यो । दोस्रो हाफमा फ्रेण्ड्सले गोल फर्कायो । फ्रिकिक बललाई सदुपयोग गर्दै जेनिसले गोल गरेका हुन् । यसपछि थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा नै सकियो । यो बराबरीपछि फ्रेन्ड्सले आठ खेलबाट ६ अंक बटुल्यो । यो बराबरीपछि फ्रेन्ड्स १३ औं स्थानमा उक्लिन सफल भयो । त्यसअघि नाइजेरियन स्ट्राइकर रिचार्ड चुक्युदालु ओन्यमाको ह्याट्रिक प्रेरणामा संकटा क्लबले राष्ट्रिय लिगमा दोस्रो जित निकाल्दै अंकतालिकामा सुधार गरेको छ ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबारै भएको पहिलो खेलमा संकटाले एन्फा प्रेसिडेन्ट लिगबाट आएको चित्लाङ एफसीमाथि ४–० को सहज जित निकाल्यो । संकटाको जितमा विदेशी खेलाडी चम्किए । रिचार्डले ह्याट्रिक पूरा गर्दा अर्का विदेशी खेलाडी टाय ड्यानिल बाडारुले एक गोल गरेका थिए। अंकतालिकाको १०औं स्थानको चित्लाङ र ११औं स्थानको संकटाबीच प्रतिस्पर्धा भएको हो ।

जहाँ सहिद स्मारक ‘ए’ डिजिभन क्लब पूर्ण हाबी भयो र नवौं स्थानमा उक्लिएको छ । चित्लाङ भने एक स्थान तल झरेको छ । संकटाले पहिलो हाफमा नै तीन गोल गर्‍यो । दोस्रो हाफमा खेलमा फर्कने चित्लाङको प्रयास सफल भएन र उल्टै चौथो गोल व्यहोर्‍यो । संकटाले आठ खेलबाट ९ अंक जोड्यो ।

संकटाले तीन हार र तीन बराबरीको सामना गरेको छ । चित्लाङको भने यो तेस्रो हार हो । समान खेलबाट चित्लाङ सात अंक जोड्दै १२ औं स्थानमा झरेको छ । चित्लाङले चार बराबरी र एक जित निकालेको छ । आफ्नो आठौं खेलमा चित्लाङ पहिलो मिनेटदेखि नै दबाबमा पर्‍यो । रिचार्डले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए । ३५औं मिनेटमा टायको गोलबाट संकटाले अग्रता दोब्बर बनायो । पहिलो हाफको थप समयमा संकटाले तेस्रो गोल गर्‍यो । यसपल्ट रिचार्डले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । पहिलो हाफमा संकटा ३–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा गोल हुन धेरै समय पर्खनु पर्‍यो । ७५औं मिनेटमा रिचार्डले गोल गर्दै ह्याट्रिक पूरा गरे । यससँगै संकटा ४–० को सहज अग्रतामा पुग्यो । यसपछि बाँकी समयमा थप गोल हुन सकेन र संकटाले दोस्रो जित निकाल्यो ।