Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


दुई लाख १५ हजार कर्मचारी फिल्डमा : आयोग निर्वाचन


91
Shares

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएको छ ।

आयोगले आज विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुसंग गरेको छलफलमा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन सम्पन्न गर्न दुई लाख १५ हजार कर्मचारी फिल्डमा खटाइएको जानकारी दिनुभयो ।

मतदाता शिक्षाका लागि दश लाख नमूना मतपत्रसहित ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको जनाएको छ । आयोगले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र पुगेको जानकारी दिएको हो । आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले आयोगको कार्यतालिका अनुसार नै मतपत्र छपाई र ढुवानी कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिक निर्वाचनतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको हो ।

आयोगले यस पटकको निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी जानकारी दिंदै कुल मतदाता मध्ये ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेको जनाएको छ । आयोगले विदेशी पत्रकार र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र पास उपलब्ध गराइने पनि जनाएको छ ।