Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा

भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ

52
Shares

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा भएको बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिवद्ध रहेको बताउनुभयो ।

निर्वाचनको सुचारु सञ्चालन र पर्यवेक्षणका लागि आयोगले निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति स्थापना गरेको उहाँले जानकारी दिनुभया । साथै, निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति विरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘१६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ । हामीले निर्वाचन जानकारी स्थापना गरेका छौं । यो सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति, जेईओसी, सहज सञ्चालनदेखि अवलोकनसम्मको लागि हो । हामीले गलत सूचना, मिथ्या सूचना र घृणायुक्त भाषण विरुद्ध कारबाही गरेका छौं ।

निर्वाचन आयोगले निर्वाचनको सफल सञ्चालनको लागि तपाईंको निरन्तर समर्थन र सहयोग र सद्भावको अपेक्षा गर्दछ ।’
आयोगले सम्पूर्ण सरोकारवालालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न आग्रह गरेको छ ।