Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


संविधानलाई लयमा फर्काउन निर्वाचन अनिवार्य : गगनकुमार थापा


117
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई सही मार्गमा राख्नका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ ।

आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव कुनैपनि दलको योजना अनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पार्नुभयो ।

संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै उहाँले परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको उल्लेख गर्नुभयो ।

थापाले केही तत्वहरुले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको भन्दै निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरु चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने बताउनुभयो ।

आगामी वर्षहरुमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहित काँग्रेस जनतासामु गएको भन्दै उहाँले अब कुनैपनि प्रकारका आन्दोलन र विध्वंश हुन नदिने प्रतिज्ञा दोहोर्‍याउनुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली काँग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताउनु भयो ।

पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै उहाँले आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञापत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।