Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


तीन वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा २ जना युवाको ज्यान गयाे


1.4k
Shares

काठमाडौं । सर्लाहीमा बुधबार राति तीन वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुई जना युवाको ज्यान गएको छ ।

बाँके-सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक साेही दुर्घटना भएकाे हाे । ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो । बुधबार राति ८ बजे खिला गाउँ नजिकै भारतीय नम्बर प्लेटका तीन वटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३– एपी ३८–९ र एचपी ५५ सी –६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ। दुर्घटनाका घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनास्थलबाट उद्धार गरिएकामध्ये सामान्य घाइते हरिपूर्वा नगरपालिका–९, कै २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास रायको मोडेल अस्पताल लालबन्दीमा उपचारपछि प्रहरी नियन्त्रणमा छन् ।