काठमाडाैं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यहि फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सफलताको शुभकामना समेत दिनुभएकाे छ।
नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका प्रधानमन्त्री रहमानबीच मंगलबार राति ढाकामा भएको भेटवार्ताका क्रममा निर्वाचन सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको हाे । साेही अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका रहमानलाई बधाई ज्ञापनसहित प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।
दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभएकाे छ। नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा र पर्यटन लगायत क्षेत्रमा सहकार्य बढाउने बारेमा छलफल गर्नुभएको थियो ।
त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो । सोमबार ढाका प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।






प्रतिक्रिया दिनुहोस्