Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः अध्यक्ष यादव


195
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दावी गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गर्नुभएकाे छ । संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरुको सूची समेत अधुरो-अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको उहाँको भनाइ छ ।

अध्यक्ष यादवले प्रदेशहरूको पुनःसंरचना आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताउनुभयो । राज्यका निकायहरुमा आंशिक समावेशिता भएपनि समुदायको जनसंख्याका आधारमा प्रतिनिधित्व हुन नसकेको उहाँको तर्क छ । उहाँले नेपालको संसदीय प्रणाली असफल भइसकेको जिकिर गर्दै वर्तमान निर्वाचन प्रणाली समेत अत्यधिक खर्चिलो भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष यादवले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रिकृत र एकात्मक ढाँचामा सिमित रहेको कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बन्न पुगेको बताउनुभएकाे छ। यी सबै समस्याको समाधान गर्न संविधान संशोधन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।