Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैन : मधेस प्रदेश प्रमुख कर्ण


78
Shares

काठमाडाैं । मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश प्रमुख कर्णले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनका लागि सार्वजनिक पद धारण गरेकाहरुले आफ्नो पदलाई केवल सेवाभावले मात्रै बुझन आवश्यक रहेको समेत बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु वा सरकारी कर्मचारीहरुले पदीय मर्यादामा रहँदा जन सेवाको कामलाई आत्मासात गरेर अघि बढे भ्रष्टाचारको जरो आफै उखेलिने समेत स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो,‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा हामी कहिल्यै विचलित हुनुहुँदैन । आजको युगमा हामी तर राजर्षी जनकको दर्शनले हामीलाई के सिकाउँछ भने पद र शक्तिको मोहमा परेर आफ्नो कर्तव्य र मर्यादाबाट विमुख हुनुनै सबभन्दा ठूलो विचलन हो । विवेक, दर्शनको सान्दर्भिकता आज झन बढेको छ । जब एउटा कर्मचारी वा जनप्रतिनिधिले सरकारी कुर्सीमा बस्दा त्यसलाई अधिकारको डण्डा होइन, बरु पवित्र नासोको रुपमा स्विकार गर्छ, तवमात्र भ्रष्टाचारको जरो उखेलिन्छ । सार्वजनिक पदमा बस्ने हामी प्रत्येक यो सोच्न आवश्यक छ कि हामी यो पदमा केवल सेवा गर्न आएका हौ । निजी आर्जन गर्न होइन । जसरी राजर्षी जनकले राजकीय वैभवको बीचमा भएर पनि कहिल्यै कुनै आशक्ति राखेनन् । त्यसैगरी आजका हामी सबै राष्ट्र सेवकहरुले राज्यको स्रोत र साधनलाई जनताको नासो ठानी संरक्षण गर्नु पर्दछ ।’ 

प्रदेश प्रमुख कर्णले पद र शक्तिको मोहमा परेर आफ्नो मर्यादाबाट विमुख हुने छुट कसैलाई पनि नभएको बताउनु भयो ।