Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल


0
Shares

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले क्षेत्र नं. ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन र प्रचारप्रसार मूल समिति गठन गरेको छ ।

क्षेत्रीय सभापतिको नेतृत्वमा गठित यस समितिमा केन्द्रिय, प्रादेशिक र क्षेत्रीय तहका सबै संरचनाका सदस्यहरुको प्रतिनिधित्व रहेको छ । यो समितिको विस्तारसँगै अब काँग्रेसको प्रचार अभियानले तिब्र गति लिने बताइएको छ । काँग्रेसको मुख्य रणनीति नागरिकका बीचमा प्रष्ट र पारदर्शी ढंगले आफ्ना योजनाहरू पु¥याउनु र प्रतिष्पर्धीहरूले फैलाएका भ्रमहरूलाई चिर्नु रहेको काँग्रेस महामन्त्री प्रदीप पौडेलले बताउनु भयो । 
जन्मले जेठो, विचारले सधैँ नयाँः नेपाली काँग्रेस
नेपाली काँग्रेसलाई ‘पुरानो पार्टी’ भनेर अप्रासंगिक बनाउन खोज्ने एउटा कृत्रिम भाष्य (न्यारेटिभ) निर्माण गर्न खोजिएको बताउनु भयो । तर पुरानो हुनुको अर्थ अनुभव र योगदानको कदर हुनु हो । नेपाली काँग्रेस नेपालको राजनीतिको ‘विश्वविद्यालय’ भएको उहाँको भनाइ छ । राणा शासनको अन्त्यदेखि, पञ्चायत विरुद्धको संघर्ष र बहुलवादको स्थापनासम्म काँग्रेसकै नेतृत्वदायी भुमिका छ ।
काँग्रेस जन्मका आधारमा जेठो होला, तर विचारका आधारमा यो सधैँ नयाँ र गतिशील छ । काँग्रेस विचार आयात गरेर लाद्ने नभइ नेपाली समाजको आवश्यकता र चाहनाअनुसार एजेण्डाहरू निर्माण गर्ने पार्टी भएको बताउनु भयो । बीपी कोईरालाले भन्नुभएझैँ परिवर्तित समाजको सारलाई बुझेर कांग्रेसले आफूलाई निरन्तर परिमार्जन गर्दै आएको काँग्रेस रहेको जिकिर गर्नुभयो । 
रूपान्तरणको संकल्प र नेतृत्वको स्पष्टता
उहाँकाअनुसार काँग्रेसले विगतका कमजोरीहरूलाई स्वीकार्न ढिला गरेको छैन । नागरिकले काँग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई आफूहरुले आत्मसात गरेको महामन्त्री पौडेलको भनाइ छ । त्यसैले अहिले काँग्रेस रूपान्तरित काँग्रेसका रूपमा मतदाताका बीचमा आएको उल्लेख गर्नुभयो । यसपटकको विशेष पक्ष के हो भने, हामीले कसैको व्यक्तिगत घोषणाका आधारमा नभई पार्टीको संस्थागत निर्णयबाटै गगन थापालाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रश्तुत गरेको बताउनु भयो ।  नेतृत्व परिवर्तनको जनचाहनालाई सम्बोधन गर्दै नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाएर हामी अगाडि बढेको बताउनु भयो । 
समृद्धिका १० एजेण्डा र सुशासनको मार्गचित्र
देशका लागि काँग्रेसले १० वटा मुख्य एजेन्डाहरू अघि सारेको बताउनु भयो । काँग्रेसको प्राथमिकता केवल रोजगारीको संख्या मात्र नभइ रोजगारी सिर्जना गर्ने ठोस प्रक्रियामा रहेको जिकिर गर्नुभयो । कम्पनी दर्तादेखि अन्य प्रशासनिक काममा हुने झन्झटिलो प्रक्रियालाई अन्त्य गर्ने काँग्रेसको प्रतिवद्धता रहेको बताउनु भयो । ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) मात्र होइन, स्वदेशमै भएकाहरूको क्षमता सदुपयोग हुन नसक्ने ‘ब्रेन वेस्ट’को समस्यालाई पनि हामी सम्बोधन गर्ने पनि बताउनु भयो । भ्रष्टाचारको अन्त्य काँग्रेसको मूल संकल्प भएको बताउनु भयो । 
समन्वयकारी शक्ति र राजनीतिक परिपक्वता
नेपालको जटिल राजनीतिमा अतिवादलाई जोड्ने र मध्यममार्गी धारमा ल्याउने समन्वयकारी क्षमता भएको एकमात्र दल नेपाली काँग्रेस भएको दाबी गर्नुभयो । अतिवादी शक्तिहरू मात्र संसदमा पुग्दा देश अस्थिरतातर्फ जानसक्छ । त्यसैले संविधानको कार्यान्वयन र लोकतान्त्रिक संस्थागत विकासका लागि काँग्रेसको बहुमत आवश्यक रहेको बताउनु भयो । सामरिक दृष्टिले महत्वपूर्ण भूमिलाई छिमेकीहरूको स्वार्थका लागि नभइ नेपालको राष्ट्रिय हितका लागि प्रयोग गर्ने परिपक्वता काँग्रेससँग मात्र रहेको बताउनु भयो ।
काठमाडौं क्षेत्र नं. ५ सँगको अटुट सम्बन्ध
उहाँले काठमाडौं क्षेत्र नं. ५ बाटै आफ्नो राजनीतिक भविष्य देखेको बताउनु भयो । आफू पार्टीको महामन्त्री भएको नाताले देशभरका सबैको माया पाएको बताउनु भयो । तर आफ्नो मुख्य कार्यक्षेत्र यही भएको उहाँको जिकिर छ । कतिपयले आफूलाई बाहिरको उम्मेदवार भन्न खोजे पनि आफ्नो क्षेत्र काठमाडौं ५ नै भएको र यहीँको माटोमा भिजेको मान्छे भएको उल्लेख गर्नुभयो । 
काँग्रेसले निर्वाचन जितेपछि रिङरोड निर्माणको दबाब, मेलम्चीको खानेपानी पाइपलाइन विस्तार, विष्णुमती कोरिडोर र सार्वजनिक जग्गा संरक्षणमा निरन्तर पैरवी गरेका बताउनु भयो । आफू स्वास्थ्य मन्त्री हुँदा होस् वा अहिले, मैले सधैँ सरल र सेवामुखी राजनीतिलाई प्राथमिकता दिएको बताउनु भयो । राजनीति मेरा लागि समाजसेवा हो र यो सधैँ पद ओगट्नका लागि होइन, परिणाम देखाउनका लागि हुनुपर्ने बताउनु भयो । 
मतदातासँगको सानिध्य
काँग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको र अबको लडाईं काँग्रेसलाई बहुमतको पार्टी बनाउने लडाईं भएको बताउनु भयो । काँग्रेसका प्रत्येक सक्रिय सदस्यहरू मतदाताका घरदैलोमा पुग्नुपर्ने र सबै उम्मेदवार हौँ भन्ने भावनाका साथ कार्यविभाजन गरेर मतदातालाई काँग्रेसको एजेण्डा बुझाउनुपर्ने बताउनु भयो । डिजिटल कनेक्टिभिटी र व्यक्तिगत सम्पर्कलाई प्रभावकारी बनाउँदै यो निर्वाचनमा ऐतिहासिक सफलता हासिल गर्ने बताउनु भयो । सचेत र प्रबुद्ध मतदाताको साथले काँग्रेसको विजय सुनिश्चित रहेको उहाँको भनाइ छ ।