Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौं : उदय शमशेर जबरा


195
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यो चुनाव जितेन्द्र श्रेष्ठ वा उदय शमशेरको मात्र नभइ गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा परिवर्तन ल्याउने चुनाव भएको बताउनुभएको हो । काँग्रेसले गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर अघि बढेको उल्लेख गर्नुहुँदै उहाँले अबका सरकार गगनका सरकार भनेर भोट माग्न आग्रह गर्नुभयो ।

सहमहामन्त्री राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फेसबुक र ट्विटरको भित्तामा मात्र सिमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न अन्य नेताहरूलाई चुनौती दिनुभयो ।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गर्नुभयो । रास्वपा दुई पटक सरकारमा गइसकेको र उनीहरूका सभापति दुई पटक गृहमन्त्री बनिसकेको बताउनु भयो । उनीहरू कसरी नयाँ भए ? उहाँको प्रश्न छ । उहाँले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानूनी मुद्दाहरूको उल्लेख गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन् ? फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू भन्नुपर्छ ।’
‘जेन–जी’ आन्दोलनपछि नेपाली काँग्रेसले आफूलाई बदलेको दाबी गर्दै राणाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको चर्चा गर्नुभयो । उहाँले काँग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन पार्टी बनेको बताउनु भया ।