Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


समाचारका विषयमा पनि अनुगमन तीव्र बनाउने: रामप्रसाद भण्डारी

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने आयाेगकाे चेतावनी

208
Shares

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष रुपमा समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गर्नुभएकाे छ ।

उहाँले जनक शिक्षा सामग्री केन्द्र लिमिडेड सानोठिमीमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यम एकतर्फी र एकपक्षीय ढङ्गले अर्को उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न र निष्पक्ष सामग्री बनाइदिन आग्रह गर्नुभएकाे हाे । देशैभरी निर्वाचनमय वातावरण बनिरहेको अवस्थामा निर्वाचनको अन्तिम अन्तिम चरणमा आइरहँदा समाचारलाई भन्दा आफ्ना विचारलाई सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगरिदिन उहाँले आग्रह गर्नुभएकाे छ ।

आचारसंहिता उल्लङ्घनमा परेका उजुरीमाथि छानबिन र कारबाही अगाडि बढाएको भन्दै उहाँले अचारसंहिता लागू भए वा भएन, त्यसको परिपालन भयो भएन, त्यसको पनि विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको बताउनुभयाे । आयोगले आचारसंहिता उलङ्घनको अनुगमन पनि गरिरहेको उल्लेख गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको समेत जानकारी गराउनुभएकाे छ।