Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


आईसीसी टी-२० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा नेपाल विजयी

क्यानाडा भने ६ विकेटले पराजित

52
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप अघिको दोस्रो एवं अन्तिम अभ्यास खेलमा नेपालले क्यानाडालाई ६ विकेटले पराजित गरेको छ ।

भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा बिहीबार भएको खेलमा क्यानाडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १२ बलअघि नै ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ५८, सन्दीप जोराले ४४, गुल्सन झाले नटआउट ३१ रन बनाए । क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुण्डलले १र१ विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । क्यानाडाका नवनीत धालिवालले ४१, श्रेयस मोव्वाले नटआउट ३८ रन बनाए । नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २र२ विकेट लिएका थिए। नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

१०औँ संस्करणको टी–२० विश्वकप शनिबार फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने भएको छ । प्रतियोगितामा २० वटा देशलाई ४ वटा समूहमा विभाजन गरिएको आयोजकले जनाएको हो ।प्रतियोगितामा नेपाल समूह ’सी’ मा छ । यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् ।

नेपालले आइतबार इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो ।