Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गोलन्जोर गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु


247
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष कप खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ ।

गोलन्जोर गाउँपालिका –४ खोप्लिङ खेलमैदानमा संचालन हुने प्रतियोगिता गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले उद्घाटन गर्नुभएको हो ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद ” भन्ने नारा सहित आयोजित प्रतियोगितामा गोलन्जोर गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका ८ समुहहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ६ को समुहले गोलन्जोर गाउँपालिकाको कर्मचारी समुहलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा पहिलो हुने समुहले ६५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने आयोजक गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । दोस्रो हुने समुहले ४० हजार रुपैयाँ र तेस्रो हुने समुहले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले नयाँ खेलाडी उत्पादन र क्षमता बढाउन यस प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले गाउँपालिकाको स्रोत साधनले पुगे सम्म खेल र खेलाडीको विकासमा लगानी गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गोलन्जोर गाउँपालिकाको १ नम्बर वडाअध्यक्ष सोम प्रसाद बराल, २ नम्बर वडाअध्यक्ष दौलत कार्की, ३ नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल, ४ नम्बर वडाअध्यक्ष भक्त बहादुर भुजेल, ७ नम्बर वडाअध्यक्ष रेगन राज थापा लगाएतका जनप्रतिनिधिहरु, कर्मचारी, खेल प्रेमी स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।