Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस् : संयोजक दाहाल


299
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी दोहो¥याउनुभएको हो । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उहाँको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गर्नुभयो ।

उहाँले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताउनुभयो । उहाँले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन । यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ । त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ । अझैपनि कतिपय मान्छेहरुले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलमा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् । म तपाईलाई भन्न चाहन्छु । चुनाव हुन्छ नै । २१ फागुनमै हुन्छ । म सरकारलाई पनि के सुझाव राख्न चाहान्छु भने दुई चरण भनेर नगरियोस् चुनाव एकै चरणमा होस् । चुनाव निष्पक्ष रुपमा हुने वातावरणको ग्यारेन्टी गरियोस् ।’

उहाँले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उहाँको भनाइ छ ।