Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एलपी ग्यासको अभाव ? (भिडियो रिपोर्ट)


247
Shares

वेदिका झा, काठमाडौं ।
केही दिन यता खाना पकाउने ग्यासको अभाव देखिएको छ । नियमित ग्यास आपूर्ति भईरहे पनि वितरण अब्यवस्थाका कारण अभाव केही निश्चित कम्पनीका उपभोक्ताहरु मारमा परेका हुन् ।

नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताईरहँदा नेपाल ग्यासका उपभोक्ता भने ग्यासका सिलिण्डर बोकेर भौंतारिन बाध्य छन् । नेपाल ग्यासका उपभोक्ताहरुले गत सातादेखि नै ग्यास नपाएको गुनासो गर्दै आईरहेका थिए । यो साता त उपभोक्ताहरु ग्यासका सिलिण्डर बोकेर नेपाल ग्यासको रिफिलिङ सेन्टरसम्मै पुगिरहेका छन् ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उद्योगमा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य हुने गरेका छन् । घण्टौं लाइन बस्दा पनि ग्यास नपाउँदा उपभोक्ताहरु आक्रोशित समेत हुने गरेका छन् ।

ग्यास उद्योगी र व्यवसायीहरुले भने न्यायोचित रुपमा नै ग्यास वितरण भईरहेको दाबी गरेका छन् । उद्योगले समान रुपले नै ग्यास वितरण गरिरहेको तर उपभोक्ताले ग्यास अभाव हुने त्रासमा आवश्यकता भन्दा बढी स्टक गरेका कारण वितरणको प्रणाली विग्रिएको दाबी गरेका छन् ।
नेपालसंग ग्यास ढुवानीका लागि आफ्नै ग्यास बुलेट नहुँदा भारतीय ढुवानीकर्तामा भर पर्नु पर्दछ । त्यसमाथि चिसोका कारण ढुवानीमा हुने ढिलाईले पनि समस्या निम्त्याएको उद्योगी, व्यवसायीको तर्क छ ।
तत्कालका लागि बजारमा अभाव जस्तो देखिए पनि अहिलेको मागलाई सम्बोधन गर्ने गरी ग्यास आपूर्ति बढाउन भारतीय आयल निगमसँग समन्वयन भईरहेको पनि उद्योगीहरुले बताएका छन् । केही दिनभित्रै विग्रिएको वितरण असन्तुलन ठिक ठाउँमा आउने आश्वासन पनि उनीहरुले दिएका छन् ।