Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’ : पुष्पकमल दाहाल


338
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व राख्ने बताउनुभएको छ । 

सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताउनु भयो । उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गर्नुभयो । उहाँले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गर्नुभयो ।

सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि रहन्छ । तपाईहरुको जिम्मेवारी अरु क्षेत्रको जनता र उम्मेद्वारको भन्दा बढी छ । धेरै बढी छ, तपाईहरुले यो महशुस गर्नुभएको होला । तपाईहरु सवैले रेकर्ड बनाउने गरि असिम राईलाई तारा चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईहरुले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईहरुको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रुपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरुमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’ 
उहाँले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिनुभयो । उहाँले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताउनुभयो ।