
काठमाडौं । पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको छ ।
पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ७ वर्षपछि पराजित गरेको हो । यसअघि सन् २०१८ संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा भएको खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ३३ रनले पराजित गरेको थियो । बिहीबार राति लाहोरमा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका क्यारुन ग्रीनले सबै भन्दा बढी ३६ रन बनाएका थिए । पाकिस्तानका सइम अयुब र अब्रार अहमदले २र२ विकेट लिएका हुन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । पाकिस्तानका सइम अयुबले ४० रन बनाएका हुन् । अस्ट्रेलियाका एडम जम्पाले ४ विकेट लिएका थिए । योसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आइतबार हुने भएको हो ।





प्रतिक्रिया दिनुहोस्