Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


डाक्टर लाइसेन्स परीक्षामा ६० प्रतिशत अनुत्तीर्ण


195
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस गरी कुल ९४३ जना सहभागीमध्ये ३७२ जना मात्र उत्तीर्ण भएका हुन्, जसअनुसार उत्तीर्ण दर ३९.४५ प्रतिशत रहेको छ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको थियो। लाइसेन्स परीक्षाका लागि कुल ९६७ जनाले फारम भरेका थिए, जसमध्ये २४ जना अनुपस्थित रहेका काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए।

एमबीबीएसतर्फ ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३०० जना मात्र उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ३८.७ प्रतिशत रहेको छ। यस्तै बीडीएसतर्फ १७४ जनाले फारम भरेकोमा १६८ जना सहभागी भएका थिए। तीमध्ये ७२ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण दर ४२.८५ प्रतिशत रहेको काउन्सिलले जनाएको छ।

यस नतिजाले चिकित्साशास्त्र अध्यापन गराउने विश्वविद्यालय र मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ। तर रजिष्ट्रार डा. देवले भने यसपटकको परीक्षामा अनुत्तीर्ण हुनेहरूमध्ये धेरैजसो अघिल्ला परीक्षामा समेत फेल भइसकेकाहरू रहेको दाबी गरेका छन्।