Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


खुम्बु ल्होसार कप फुटबल माघ माघ २४ गतेदेखि ललितपुरमा हुने

प्रतियोगिताको उपाधि जित्ने टोलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने

78
Shares

काठमाडाैं । सोलुखुम्बुको महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा आयोजकको एकसहित ८ टोलीको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्। सहभागी टोलीहरुमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछेवा फुटबल क्लब, थामे, अमादब्लाम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएकाे हाे ।

नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को अवसरमा हुन लागेको प्रतियोगिताको उपाधि जित्ने टोलीले १ लाख ५० हजार, दोश्रोले ८० हजार र तेश्रो हुनेले ४० हजार रुपौयँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले बताएका छन् ।आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रुपमा स्थापित भइसकेको बताएका हुन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर अहिले काठमाडाैंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिताको शुरुवात गरेका थिए ।