Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरु मैदान छाडेर भाग्नुभयोः सांसद श्रेष्ठ


156
Shares

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सबै राजनितिक दलहरुको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताउनुभयो । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उहाँले आरोप लगाउनुभयो ।

निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उहाँको भनाई छ । उहाँले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताउनु भयो । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएपनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘संविधानलाई डिरेलबाट रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनितिक दलहरु निर्वाचनमा होमिएका छौँ । अब यो निर्वाचनमा होमिँदैगर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरु मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नुभएको छ ।

विस्तारै पर्दा खोलिँदैछ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरु अझ भोली खोलिँदै जालान् । मन्त्रीहरु आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ रु हिजो मन्त्री पदमा बस्ने, सपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने रु अब कस्तो निष्पक्ष चुनाव गराउने रु हामी अनुमान गरौँ । मन्त्री पदमा बस्दा दिएका उहाँहरुका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला रु अनि त्यसबाट निष्पक्ष चुनाव होला रु हामीले शंका गर्ने ठाउँ रहन्छ ।

राजिनामा दिएर चुनाव लड्न पाउने उहाँहरुको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन् ।’ उहाँले मन्त्री बनेकाहरु नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथीको आगजानी लगायतका घटनाक्रमका ‘पर्दा’हरु विस्तारै खुल्न थालेको बताउनुभयो ।