काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायीले विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
निजी क्षेत्रको लगानी र नियन्त्रण रहेको नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना ठूला यातायात व्यवसायीहरु चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बताउनुभयो ।
उहाँकाअनुसार नेपाली कांग्रेसबाट महासंघका केन्द्रिय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२, पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र वरिष्ठ व्यवसायी भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा समेत सुर्खेत–२ बाट उम्मेदवारी दिनुभएको सापकोटाले जानकारी दिनुभयो ।
यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नभएकै कारण यो क्षेत्र अस्तव्यस्त बनेको उहाँको भनाइ छ । उहाँले नीति निर्माण तहमा यातायात क्षेत्रको सहभागिता नहुँदा मुलुकको ठूलो लगानी भएको र आर्थिक समृद्धिको प्रमुख आधार मानिने यातायात क्षेत्र भद्रगोल अवस्थामा पुगेको समेत उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नीति बनाउने ठाउँमा यातायात क्षेत्रको प्रतिनिधित्व नभएकै कारण नेपालको अत्यन्त ठुलो लगानी भएको तथा मुलुकको आर्थिक समृद्धिको वाहकका रुपमा रहेको यातायात क्षेत्र अस्तव्यवस्त भएको । नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने भनेको सार्वजनिक यातायात हो ।
त्यसको प्रतिनिधित्व संसदमा नहुँदा यातायात क्षेत्र भद्रगोल रहेको अवस्थामा महासंघ र यातायात व्यवसायीले निर्णय गरेर महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनुभएको छ । उहाँ कैलाली क्षेत्र न। २ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।’ उहाँले चार जना उम्मेदवारलाई नीति निर्माणको तहमा पुर्याउन यातायात व्यवसायीहरुलाई एकजुट भएर लाग्न अपिल समेत गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्