Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


राष्ट्रिय सभामा एमालेकी रोशनी मेचे निर्वाचित


507
Shares

काठमाडाैं । राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्।

उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रिय सभाको यात्रा सुनिश्चित गरेकी हुन्। मेचेले कूल ७ हजार १७३ मतभार हासिल गरेकी छन् भने निर्वाचन आयोगको औपचारिक घोषणा आउन बाँकी छ।

उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरिन्। न्यौपानेलाई २२ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको थियो। कोशी प्रदेशमा माओवादी केन्द्रका १७ जना मात्र प्रदेश सांसद रहेका छन्।

न्यौपानेले कांग्रेस, एमाले र जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तान्न सफल भइन्। यस्तै, गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले क्रस मतदान गर्दै उनलाई मत दिएका थिए।

कोशी प्रदेशमा स्थानीय तहका माओवादी केन्द्रका ३६ मतदाता रहे पनि न्यौपानेले कुल ५८ जनाको मत प्राप्त गरिन्। यति हुँदाहुँदै पनि गठबन्धनबाट तानिएको मत पर्याप्त नहुँदा झापा धाइजनकी रोशनी मेचे फराकिलो मतान्तरका साथ माथिल्लो सदनमा पुग्न सफल भएकी हुन् ।