Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


प्रतिनिधि सभा निर्वाचनः उपत्यकाका उम्मेदवारसँग बालेनको छलफल


403
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किनुभएका नेता साहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो । नेता साहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताहरुले बताउनुभयो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहनुभएको नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिनुभएको बताउनुभयो । उहाँले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेता साहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘उहाँले हामीहरुसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ-सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’

पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’ रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता साहसँग भेट भएको बताउनु भयो ।

उहाँले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहार्द्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ ।

नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता साहले झापा–५ बाट उम्मेदवारी दिनुभएको छ ।