काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनुभयो ।
उहाँले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता पनि जनाउनु भयो । आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उहाँको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउनुहुँदै उहाँले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताउनु भयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गर्नुभयो ।
आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न उहाँले सचेत गराउनु भयो । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु । यहाँको संसदमा दमदमाएर सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब । त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ, हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, भरोसा दिएर पटाउनपर्छ भनेर तपाईहरुले त्यहाँ गएर भन्दिनुपर्नेछ । मसंग थोरै समय छ, पार्टीको जिम्मेवारीमा भएकोले गर्दा काठमाडौंभन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्नेछ । म क्षेत्रमा सम्पुर्ण दिन बस्ने अवस्था रहँदैन । यति कुरा विश्वास दिलाउन चाहन्छु की एक जनाले पनि सर्लाही ४ मा गगन थापालाई रुख चिन्हमा मतदान गरेर काँही मैले त्यो बेलामा गल्ती गरेछु की भन्ने तपाई एक जनालाई पनि महसुस हुने अवस्था आउन दिन्न । यो पाँच वर्ष काठमाडौको संसदमा, काठमाडौको सिंहदरबारमा आजसम्म मधेसको विषय जसरी उठ्यो, छलफलमा वा निर्णयमा त्यो भन्दा यो ५ वर्ष भिन्न हुनेवाला छ । मैले त्यहाँको प्रतिनिधित्व भिन्न ढंगले गर्छु । मेहनत तपाईंहरुले गरिदिनुपर्छ, चुनाव हो । चुनावमा आफ्नो उम्मेद्वार बलियो, अरुको कमजोर कहिले आकलन गर्नुहुँदैन ।’
उहाँले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताउनु भयो । गर्न नसकिने कामलाई आफूले शुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पार्नुभयो । उहाँले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्