काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पार्नुभयो । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका थापाले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर समेत गर्नुभयो ।
उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको तर्क समेत गर्नुभयो ।
थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन समेत आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताउनुभयो ।
नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने उहाँको तर्क छ । ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका कामनगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको उहाँको भनाई छ ।
नेता डा. प्रकाशचन्द्र लोहनीले अहिलेको व्यवस्थाकै कारण नेपाली युवाहरुको मनमा आक्रोश पैदा भएको बताउनुभयो । जेन–जी आन्दोलन वर्तमान शासन व्यवस्थाका कारण नै भएको उहाँको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्