Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सजिलो छोडेर अफ्ठ्यारो बाटो रोजेँः गगन थापा


468
Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताउनुभएको छ । 

शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उहाँले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो । उहाँले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताउनु भयो । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उहाँको भनाई छ ।

उहाँकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो । उहाँले आगामी निर्वाचनमा पनि काठमाडौंको क्षेत्र नम्बर ४ आफ्नो लागी सहज भएपनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो ।

काठमाडौँ वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्नुहुँदै उहाँले काठमाडौँ आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौं बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेको बताउनु भयो । उहाँले अघिल्लो पटक नै काठमाडौ बाहिर जाने रहर भएपनि त्यस्तो निर्णय गर्ने आँट नपुगेको स्वीकार गर्नुभयो ।

यसपटक जोखिम लिन तयार भएको उहाँले बताउनु भयो । आफ्नो पारिवारिक पृष्ठभुमि उल्लेख गर्नुहुँदै सभापति थापाले आफूले पहाड र शहर दुवै बुझ्ने अवसर पाएपनि मधेस बुझ्ने अवसर नपाएको बताउनु भयो । राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले मधेस बुझनको लागि आफू सर्लाही झरेको बताउनुभयो । उहाँले सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मैले सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेको हुँ, पार्टीमा । म ५ वर्षको लागि निकालिएको हुँ, काँग्रसबाट अस्ती भर्खरै । त्यो विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनुभएको भए, आज म पार्टीबाट निष्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थेँ । म आफ्नो लडाईं लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ, बाँकी नियतिको हातमा छ, भन्ने कुराको विश्वास गर्ने मान्छे हुँ । त्यसैले आफ्नो लडाईं लडेको हुँ । सजिलो बाटो रोजेर सजिलो ठाउँमा बसेको होइन । पार्टीमा जे गरेर आएको हुँ, अहिले उम्मेद्वारीको सन्दर्भमा पनि त्यही गर्ने मेरो प्रयास हो । म काठमाडौ ४ नम्बर क्षेत्रबाट तीन पटक निर्वाचित भएको सांसद हुँ । यो निर्वाचन क्षेत्रले मलाई असाध्यै धेरै माया ग¥यो । एमाले र माओवादी मिलेको बेलामा सबैतिर काँग्रेस निर्वाचन हारेको बेलामा पनि मलाई सानदार ढंगले निर्वाचित गरायो । अघिल्लो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस सबै वडामा हा¥यो तर प्रतिनिधिसभामा सबै वडामा मलाई जितायो । यो क्षेत्रका मतदाताप्रति म असाध्यै ऋणी छु । मैले यो ठाउँको सेवा गर्छु, गरिरहन्छु, यो मेरो कर्तव्य हो । यो पटकको निर्वाचन मलाई काठमाडौ असाध्यै सहज निर्वाचन थियो । यसको आधार के हो भने म काठमाडौमा उम्मेद्वार बन्ने की सर्लाहीमा उम्मेद्वार बन्ने भन्ने बाहिर समाचार आईरहेको बेला अरु पार्टीले उम्मेद्वार पनि छानेन । मलाई यो पटकको निर्वाचन काठमाडौ सजिलो थियो तर सजिलो हुँदैगर्दा पनि अफ्ठ्यारो रोजेको हुँ । किनभने म काठमाडौ भन्दा बाहिर जानुपर्छ भन्ने अठोट गरेको हुँ । यो भन्दा पहिला पनि गरेको थिए । तर अघिल्लो पटक मैले आँट गर्न सकिन । आँट नपुगेकै हो मेरो । यो पटक आँट गर्नुपर्छ भनेर मैलो आँट गरेको हो । मेरो बाआमा पहाडबाट आउनुभएको एउटा सामान्य परिवारको मान्छे । तर म काठमाडौमा जन्मे, काठमाडौमा हुर्कें, पहाडलाई पनि मैले चिन्ने मौका पाए, शहरलाई पनि मैले चिन्ने मौका पाए । मैले बुझेको के हो भने राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्रै हुँदैन, यसले सिंगो राष्ट्रको अंग अंश आफूभित्र राख्न सक्नुपर्छ । मधेससँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै हुँदैन । काँग्रेस पार्टीको जन्म पनि त्यही भयो, काँग्रेस पार्टीलाई मधेशले नै बनायो । मैले जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरे । एक पटक मधेशको नेतृत्व गर्ने प्रयास मैले गरे भने मात्र बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । यसको निम्ति म मधेश जाने हो, त्यहीको साथीहरुसंग जाने हो, त्यही भिज्ने हो । त्यहाँको भाषा सिक्ने हो, त्यहाँको सबै कुरा सिक्ने हो, जान्ने हो, बुझ्ने हो ।’ 
उहाँले काठमाडौं क्षेत्र नम्बर–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको उल्लेख गर्नुभयो । काठमाडौं क्षेत्र नम्बर ४ को सेवामा पनि आफू सधै समर्पित रहने उहाँले बताउनु भयो ।