Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइनः महासचिव चन्द


156
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताउनुभएको छ ।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताउनुभएको हो । उहाँले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताउनुभयो ।

जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिने सत्ता आजको आवश्यकता भएको उहाँको भनाई छ । उहाँकाअनुसार अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी गर्नुभयो । उहाँले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको सही भएपनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा भने गलत रहेको बताउनु भयो ।

नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पुरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उहाँको भनाई छ । उहाँले राजनीतिक संघर्षको मूल विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताको बीचको संघर्ष भएको बताउनु भयो । उहाँले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको बताउनु भयो ।

उहाँकाअनुसार २५–३० वा ४०–४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पुरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन । उमेरभन्दा पनि दृष्टिकोण महत्वपूर्ण भएको उहाँले बताउनु भयो । उहाँकाअनुसार मान्छे उमेरले पुरानो हुनसक्छ तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा निर्णायक हुन्छ ।

उहाँले भन्नुभयो, ‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसंगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नी जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होईन । दृष्टिकोण कस्तो छ ? भन्नेसंग सम्बन्धित छ, त्यसैले यहाँ सत्ताको बहस जसरी ओझेलमा परेको छ, हामीले पहिले बुझ्नुपर्ने अहिलेको यो बाहिर छाएको छ नी, बाहिर हल्लाखल्ला छाएको जो कुराहरु छ, त्यसलाई हामीले चिर्नुपर्छ । त्यो सबै सत्य होईन ।

अलिअलि सत्य के हो भने पुराना दलमा भन्दा नयाँ दलमा गएपछि जनतालाई थोरै सुधार, थोरै राहत, थोरै शान्ति मिल्छ की भन्ने कुराको हिसाबले त पुरानो दल र नयाँको पनि भन्न सकिन्छ । त्यस हिसावले त किनभने पुराना दलहरु कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहीँ राष्ट्रघातमा प¥यो भन्ने हिसावले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहीँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने वित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाँही सत्य होइन ।

पुराना दल र नयाँ दलको बहस अलिअलि सत्य हो, त्यो भन्दा बढी ठूलो कुरा के हो भने पुरानो सत्ता र जनताको बीचको संघर्ष मुख्य कुरा हो । पुराना नेताको समस्या हो तर नयाँ नेता र पुराना नेताको समस्या पनि मुख्य होइन । नयाँ आउने वित्तिकै, कुनै नयाँ अनुहार टक्क परेको भर्खरको २५-३० वर्षको या ४०-४५ वर्षको मान्छे आउने बित्तिकै राम्रो गरिहाल्छ र पुरानो मान्छेले चाहीँ राम्रो गर्दैन भन्ने कुरा चाहीँ सत्य कुरा होइन ।

दृष्टिकोण के हो ? आजको समस्यालाई हेर्ने नयाँ र पुरानाको दृष्टिकोण के हो ? मान्छे उमेरले पुरानो हुनसक्छ, तर उनीहरुले भन्ने कुरा के हो भन्ने कुरा धेरै महत्वपूर्ण छ । त्यसकारण पुरानो नेता र नयाँ नेताको बहस पनि वास्तविक अहिलेको समस्यालाई निकाश दिने बहस होईन । यो पनि भुलभुलैयामा पार्ने, यो जनतालाई अलमलमा पार्ने एउटा गुलियो पोतिएको नारा हो । पुरानो सत्तालाई बदल्ने दृष्टिकोण भएको नेताहरु चाहियो नी त । पुरानो चरित्रका सत्ताहरुलाई बदल्न सक्ने, त्यहाँभित्र भएका विकृतिहरुलाई फेर्न सक्ने नेता चाहियो नी त । के नयाँ भन्नेहरुबाट त्यो देखियो त ?’

महासचिव चन्दले पुरानो सत्ता संरचना र चरित्र बदल्नसक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याउनु भयो । उहाँले नयाँ भन्नेहरूमध्ये कसैबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गर्नुभयो । पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्नसक्ने शक्ति नेकपा माओवादी मात्रै भएकोले जनतालाई यो कुरा बुझाउन उहाँले निर्देशन दिनुभयो ।