Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


रौतहट पुगेर भावुक बने ऋषि धमला भक्कानिँदै भने– यतै घरजम गरेर बस्छु


598
Shares

काठमाडाैं । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका छन्। धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।

उम्मेदवारी दर्तापछि आक्रामक रूपमा घरदैलो अभियानमा जुटेका धमलाले रौतहटको अवस्था देखेर आफू निकै भावुक भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनी मतदातासँग मत माग्दै गर्दा भक्कानिएर रोएको देखिन्छ।

घरदैलोका क्रममा स्थानीयको दयनीय अवस्था देखेर आँसु झार्दै धमलाले आफू अब ‘टुरिस्ट उम्मेदवार’ नबन्ने घोषणा गरे। उनले भने, ‘रौतहटको चुलोमा समस्या छ। यहाँका जनता धेरै पीडित छन्। खान पाएका छैनन्, बस्न पाएका छैनन्, उपचार पाएका छैनन्। यही पीडा देखेर मैले रौतहट रोजेको हुँ।’

धादिङ र काठमाडौं छोडेर रौतहट किन आएको भन्ने प्रश्नको जवाफ दिँदै उनले थपे, ‘मान्छेहरू सोध्छन्-धादिङबाट, काठमाडौंबाट किन रौतहट झर्‍यौ भनेर। यहाँको पीडा हेर्नुस् त, यही पीडाले मलाई यहाँ ल्याएको हो।’ विगतमा निर्वाचित भएर गएका नेताहरूले रौतहटको विकासमा सिन्को नभाँचेको आरोप लगाउँदै धमलाले आफूले रौतहटमै घरजम गर्ने संकल्प गरेको बताए। ‘मैले सबै कुरा छोडेर अब रौतहटमै बस्ने निर्णय गरेको छु। म यहीँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु र तपाईंहरूसँगै जीवन बिताउँछु,’ उनले भने। रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको उल्लेख गर्दै धमलाले ती क्षेत्र सुधार्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनको चुनावी प्रचारशैली पनि निकै फरक र रोचक देखिएको छ। कहिले जेरी पसलमा पुगेर आफैँ जेरी पकाउने त कहिले काठ मिलमा आरा चलाउने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। खेतबारीमा काम गरिरहेका किसानसँगै कोदालो खन्ने, दाउरा बोक्ने र साइकल चलाउने जस्ता गतिविधिमार्फत उनले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन्।

भाइरल भिडियोमै एक विपन्न स्थानीयलाई अँगालो हाल्दै धमलाले उनको बासस्थानको टुंगो नभएको र परिवार खेतमै बस्नुपरेको भन्दै भावुक हुँदै सहयोग र समाधानको आश्वासन दिएका छन्। धमला आम जनता पार्टीबाट ‘मोबाइल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।