Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


को-को नेता कहाँ उम्मेदवार ?


208
Shares

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका अधिकांश राजनीतिक दलहरुले उम्मेदवारी दिएका छन् ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हिजो दिउँसोमात्रै टिकट बाँडेर सकेको थियो । कांग्रेसले देशैभरका १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ । पार्टीभित्रको आन्तरिक द्धन्द्धमा फसेको कांग्रेसले अन्तिम समयमा आएर देशैभरी उम्मेदवारी दिएको हो ।

कांग्रेसमा सभापति गगन थापाले सर्लाही ४ बाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसमा यो पटक एक सय भन्दा बढी नयाँ अनुहारलाई अवसर दिइएको छ । नेकपा एमालेले पनि देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेमा पनि पार्टी अध्यक्ष ओलीले टिकट वितरणमा मन लाग्दी गरेको भन्दै विवाद देखिएको थियो । एमालेका केही प्रभावशाली नेताहरु टिकट नपाउँदा उम्मेदवारी दिन बञ्चित भएका छन । झापा ५ मा काठमाडौंका निवार्तमान मेयर बालेन्द्र शाहले पनि रास्वपाबाट उम्मेदवारी दिनुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व पुग्नुभएको छ भने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले गोरखा २ बाट उम्मेदवारी दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दिनुभएको छ भने रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवारी दिनुभएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व उर्जामन्त्री कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवारी दिनुभएको छ भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराउनु भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दिंदा जसपा अध्यक्ष उपेन्द्र यादवले सुनसरी ३ बाट उम्मेदवारी दिनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी २ बाट, भरतपुर महानगरपालिकार्की निवर्तमान मेयर रेणु दाहालले चितवन ३ बाट, एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट, कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट उम्मेदवारी दिनुभएको छ । पूर्व सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना झापा २ बाट भिड्ने भएका छन् ।