Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


काँग्रेस नेताहरु भन्छन्, ‘काँग्रेस एकतावद्ध हुनुको विकल्प छैन’


286
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताउनुभएको छ ।

काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रिय समितिको बैठकपछि उहाँले काँग्रेस एकतावद्ध नभएका समस्या आउने बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरुक बनाएको बताउनु भयो । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उहाँको भनाई छ ।

उहाँले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनको लागि उम्मेद्वार सिफारिसमा अब भागबण्डा नहुने पनि उहाँले बताउनु भयो । टिकटमा अब ६०/ ४० को भागवण्डा अन्त्य हुने उहाँको दाबी छ । उहाँले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेद्वार बनाउने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘चुनाव अगाडी एकतावद्ध भएर नेपाली कांग्रेस जानुपर्छ । सुतेर बसेको काँग्रेसमा जागरण आएपनि हामीहरु एकै ठाउँमा उभिन नसके भोली समस्या आउँछ । यो हाम्रो निम्ति मात्रै होईन काँग्रेसको भविष्यको निम्ति हामी एकढिक्का भएर अगाडी बढौँ । धेरै समय छैन । हामीले भन्दै आएका छौँ । टिकटमा पनि अव ६०/४० भन्ने चिज अब बाँकी रहेन । जसको नाम सिफारिस भएको छ, जसको जित्ने सम्भावना बढी छ, उहाँहरुलाई टिकट दिने भन्ने हामी सबैको कुरा छ ।’

काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ पुरानो नभनी सबै एकजुट भएर निर्वाचनमा होमिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनमा जाँदा नविन काँग्रेसको मानसिकता बोकेर जानुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन नेपाली काँग्रेसको विधान अन्र्तगत आयोजना गरिएको महाधिवेशन हो । महाधिवेशनले एउटा म्याण्डेड दियो । त्यो म्याण्डेडलाई सबैले स्वीकार्नुपर्छ । यसमा पुरानो नयाँ भन्ने प्रश्न नै आउँदैन । अहिले सबैका ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ । निर्वाचनमा जाँदाखेरि नविन नेपाली काँग्रेसलाई लिएर सबैजना जाँदैछन् भन्ने मानसिकताका साथ जानुपर्छ ।’

काँग्रेस नेताहरुले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । काँग्रेसमका लामो समयदेखि योगदान पुर्‍याउने नेताहरुलाई सम्मानका साथ उचित भुमिका दिनुपर्नेमा आफूहरु स्पष्ट रहेको उहाँहरुको भनाई छ ।