काठमाडौं ।
नेपालको ऊर्जा क्षेत्रमा तीन दशक लामो प्रतीक्षापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने भएका छन् ।
विद्युत् नियमन आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेसँगै विद्युत् प्रसारण र वितरणमा निजी क्षेत्रले पहुँच पाउने भएको हो ।
नियमन आयोगले निर्देशिकामा निजी क्षेत्रका योजनाले विद्युत् प्राधिकरणको प्रसारण प्रणाली प्रयोग गरेर औद्योगिक क्षेत्रमा विद्युत् व्यापार गर्न पाउने व्यवस्था गरेको छ । योसँगै अब नेपाल विद्युत् प्राधिकरणको दशकौँ लामो एकाधिकार औपचारिक रूपमा तोडिने भएको छ ।
यो निर्देशिका लागु भएसँगै अब निजी क्षेत्रका विद्युत् उत्पादकहरूले आफूले उत्पादन गरेको बिजुली बिक्री गर्नका लागि प्राधिकरणको मात्र मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको छ । निर्देशिका अनुसार अब निजी क्षेत्रका विद्युत् उत्पादकहरूले प्राधिकरणको प्रसारण प्रणाली प्रयोग गरी औद्योगिक तथा व्यावसायिक ग्राहकलाई सिधै बिजुली बिक्री गर्न पाउने छन् ।
यसले नेपालको विद्युत् बजारलाई सिङ्गल बायर मोडेलबाट बहु–क्रेता र बहु–विक्रेताको खुला बजारतिर डो¥याएको छ । नेपालमा विद्युत् उत्पादनमा निजी क्षेत्र सहभागी भए पनि प्रसारण र वितरणमा प्राधिकरणको पूर्ण नियन्त्रण थियो ।
विद्युत् प्रसारण लाइन र विद्युत् व्यापारको लागि प्राधिकरणसँगै निर्भर हुनुपर्ने अवस्था थियो, तर निर्देशिका आएसँगै अब निजी क्षेत्रले उत्पादन गरेको बिजुली प्राधिकरणलाई नै बेच्नुपर्ने र प्राधिकरणले नै उपभोक्तालाई वितरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटेको छ ।





प्रतिक्रिया दिनुहोस्