Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

क्युबा भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसाले बाँचेको आरोप

1.7k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न एवं गम्भीर नतिजा भोग्न तयार रहन चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्युबा जाने तेल र पैसाको प्रवाह अब रोकिने चेतावनी दिनुभएको हो । यहि जनवरी ३ तारिखमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई राजधानी काराकसबाट एक कारबाहीका क्रममा नियन्त्रणमा लिएपछि राष्ट्रपति ट्रम्पको ध्यान अब क्युबातर्फ मोडिएको छ । क्युबाको लामो समयदेखिको मित्रराष्ट्र मानिने भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउने गरेको विश्वास गरिन्छ ।

ट्रम्प प्रशासनले प्रतिबन्धित भेनेजुएलाको तेल बोकेका ट्याङ्करहरू जफत गर्ने रणनीति अपनाएपछि क्युबामा इन्धन र बिजुलीको संकट गहिरिन थालेको छ । गत शुक्रबार मात्रै अमेरिकाले भेनेजुएलाबाट प्रतिबन्धित तेल बोकेको भन्दै पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । क्युबा धेरै वर्षसम्म भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसामा बाँचेको उहाँको भनाइ छ । यसको बदलामा क्युबाले भेनेजुएलाका पछिल्ला दुई तानाशाहलाई’सुरक्षा सेवा’ प्रदान गरेको समेत उहाँले बताउनुभयो । तर अब त्यस्तो नहुने बताउदै क्युबामा जाने तेल र पैसा पूर्ण रूपमा बन्द हुने बताउनुभएको छ । उहाँले सम्झौता गर्न क्युबाली नेतृत्वलाई कडा सुझाव समेत दिनुभयो ।

यद्यपि, राष्ट्रपति ट्रम्पले कस्तो खालको सम्झौता गर्ने वा क्युबाले कस्तो नतिजा भोग्नुपर्ने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन। उता क्युबाका विदेशमन्त्री ब्रुनो रड्रिग्वेजले भने ट्रम्पको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको छ।