Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सन्त निरंकारी मण्डलद्वारा रक्तदान शिविरमा ६२ पिन्ट रगत सङ्कलन


169
Shares

काठमाडौँ ।
सन्त निरंकारी मण्डल, नेपालद्वारा आयोजित बृहत् खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

आज विजय स्मारक माध्यात्मिक विद्यालय, डिल्लीबजारको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रक्तदान शिविरमार्फत ६२ पिन्ट रगत सङ्कलन गरिएको मण्डलले जनाएको छ। साथै खुला सत्सङ्ग कार्यक्रममा करिब ५०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले समाजमा विभिन्न नाममा बढ्दै गएको अशान्ति र असन्तुष्टिको अन्त्यका लागि आध्यात्मिक चिन्तन नै प्रभावकारी उपाय हुने बताउनुभयो। उहाँले आध्यात्मिक चेतनाले मानवता, सहअस्तित्व, समानता र भाइचाराको भावना विकास गर्दै विश्वबन्धुत्वको मार्ग प्रशस्त गर्ने उल्लेख गर्नुभयो।

मण्डलका केन्द्रीय उपाध्यक्ष तथा काठमाडौँ प्रमुख कृष्णबहादुर पन्तले जाति, सम्प्रदाय, भाषा र धर्मका आधारमा समाज विभाजित हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधानका लागि आध्यात्मिक मार्ग नै असल भावनाको आधार बन्ने धारणा राख्नुभयो।

कार्यक्रममा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक भरत वड, डा। बाबुराम भुल, कवि विजय विश्वकर्मालगायतले विचार तथा सृजनात्मक प्रस्तुति राख्नुभएको थियो।

यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरसहित विभिन्न सङ्घ–संस्थामा आबद्ध व्यक्ति तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक ध्रुव अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नुभएका बाबुराम भुललाई सन्त निरंकारी मण्डलले विशेष सम्मानसमेत गरेको थियो।