काठमाडाैं ।
सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरुको सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको जानकारी गराए ।
नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्यसका लागि नेपाली सेना तयार रहेको बताउनुभयो । उहाँले निर्वाभचनको क्रममा हुनसक्ने सुरक्षा खतराहरुको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेके समेत उल्लेख गर्नुभयो । उहाँले निर्वाचनअगाडि सुरक्षा चुनौती हुनसक्ने वर्गलाई आवश्यक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने बताउनु भयो । उहाँले विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थहरु नष्ट भइसकेको भन्दै कँहीकतै फेला परेमा सूचना आदानप्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले अगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी जानुपर्छ । निर्वाचन सम्पन्न गराउनु पनि आवश्यक छ । यसको लागि मुख्य थ्रेटको रुपमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नै रहेको लागिराखेको होला । यसको लागि हामी सुरक्षा निकायहरुले पनि आवश्यक गृहकार्य गरिराखेका छौँ । निर्वाचनको केही समय अगाडिदेखि नै हामी बृहत रुपमा पनि जान्छौँ । बालबालिका, महिला, किसानलक्षित वर्गलाई हामी माइण्डसेट एजुकेशन दिने नै छौँ । विगतका बारुदी सुरुङ विस्फोटक पदार्थहरु नष्ट भइसकेका छन् । यदि कँहीकतै भेटिएको अवस्थामा सूचना आदानप्रदान पनि गर्नुपर्छ । हामी देशभर गएर खोज्ने कुरा हुँदैन तर यदी यो क्षेत्रमा छ भनेर सूचना पायौँ भने हामी अगाडि बढ्न सक्छौँ । अगामी निर्वाचनको लागि हाम्रो बम डिस्पोजल टिमहरु देशभरी नै छ । निर्वाचनलाई लक्षित गरेर सानो सानो टुकडीमा संवदेशीलताको आधारमा वर्गीकरण गरेर परिचालन पनि गरेका छौँ । हामी निर्वाचनको लागि तयार छौँ ।’
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)उमाप्रसाद चतुरर्वेदीले विस्फोटक पदार्थ भेटिनुभन्दा पनि नयाँ बम बनाउने मानसिकता झनै खतरनाक रहेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोल बम तथा केमिकल प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती रहेको बताउनुभयो । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि समिति नै गठन गरी काम भइरहेको बैठकसमक्ष जानकारी समेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘भेटिएको बम डिस्पोज गर्नुभन्दा पनि नयाँ बम बनाउने मानसिकता खतरनाक हो । सबैले त्यो मानसिकता नत्यागेसम्म देश सुरक्षित रहने अवस्था हुदैन । त्यसकारण अहिले विभिन्न आन्दोलनहरुमा पेट्रोल बम विस्फोट गराउने तथा केमिकल लगाएर ध्वस्त पार्ने मानसिकता नै सबैभन्दा खतरनाक मानसिकता हो । यसलाई नियन्त्रणमा ल्याउनको लागि हामी सबैले आफ्ना सन्तानहरुलाई ठिक ठाउँमा ल्याउनुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले एकीकृत सुरक्षा योजना पास गरिसकेको अवस्था छ ।
त्यो एकीकृत सुरक्षा योजनाबमोजिम हामी चारवटै सुरक्षा निकाय परिचालित भएको अवस्था छ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्नको तीनवटै सुरक्षा निकायले भरपर्दो समन्वय गरेर जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दुरीको गस्तिहरु हामीले निरन्तर परिचालन गरेको अवस्था छ । अपराधिक गतिविधिहरु सल्बलाउन नदिने र भागेका कैदीबन्दीहरुलाई समिति नै गठन गरेर खोजतलास गरिरहेको अवस्था छ ।’
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको भन्दै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने बताउनुभयो । उहाँले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीन वटै सुरक्षा निकायहरु एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा लागेका छौँ । हाम्रो शक्तिले नभ्याउने चिजलाई निर्वाचन प्रहरीमार्फत पनि गराउने भनेर हिजोदेखि नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप्ने भनेर आजदेखि प्रक्रिया शुरुभएको छ । उहाँहरुको समेत सहयोगमा योजनाअनुसार हामी परिचालित हुन्छौँ ।’
सुरक्षा निकायका प्रतिनिधिहरुले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्