Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


वीरगञ्जमा फेरि कर्फ्यू थपियाे


364
Shares

काठमाडाैं। धनुषमा मस्जिदमा तोड्फोड गरिएको घटनाको विषयलाई लिएर अशान्त बनेको वीरगन्जमा फेरि कर्फ्यू थपिएको छ।

वीरगन्जमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसमका लागि कर्फ्यू आदेशको समय थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएकाे हाे। यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो। त्यसअघि सोमबार दिउँसो १ बजेदेखि भने निषेधाज्ञा आदेश जारी गरिएको थियो।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गरी मंगलबार दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश थप गरिएको उहाँले बताउनुभएकाे छ। दुई फरक समुदायले प्रदर्शन गर्दै आएका कारण पर्साको वीरगञ्ज आइतबारदेखि नै अशान्त छ। धनुषाको कमलमा–६सखुवा मराडस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोड्फोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यहि विषयलाई वीरगञ्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन्।

मस्जिद तोड्फोडको विरोधमा आइतबार बिहान वीरगञ्जमा मुस्लिम समुदायले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। मस्जिद तोड्फोडमा संलग्नहरुलाई कानूनी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।