नवलपरासी ।
दुईवटा संसदीय निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीबाट एमालेले नौ जना उम्मेदवार सिफारिस गरेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि शनिबार सम्पन्न एमालेको जिल्ला भेलाले उक्त निर्णय गरेको हो ।
उम्मेदवार हुन चाहने आकांक्षीबाट नाम माग्दा जिल्लामा ९ जनाले उम्मेदवार हुने चाहना व्यक्त गरेकाले उनीहरू सबैको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले स्रोतले बताएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट देवचुली नगरपालिकाका मेयर हरि न्यौपाने र उनका स्वकीय सचिव सागर न्यौपानेसहित ८ जनाले उम्मेदवारका लागि दाबी गरेका हुन् ।यसै गरी, गैंडाकोटका पूर्वमेयर छत्रराज पौडेल, रवीन्द्र अधिकारी, गोपेन्द्र केसरी न्यौपाने, तिलोत्तम पौडेल, गोपाल खनाललगायतको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले केन्द्रीय सदस्य तिलक महत एक जनाको मात्र नाम सिफारिस भएको छ । एमाले अध्यक्ष केपी ओली निकट मानिने महतको निर्वाचन क्षेत्रमा उनीबाहेक कसैले पनि उम्मेदवार हुने चाहना नराखेको एमालेको दाबी छ । ०७९ सालको संसदीय निर्वाचनमा यहाँका दुईवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।





प्रतिक्रिया दिनुहोस्